दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की पहिले घरायसी काममा मात्रै सीमित थिइन् । चुलोचौकोमै दिन बिताउने उनको दैनिकी अहिले भने पूर्ण रूपमा बदलिएको छ । गुडिया बनाउन सिकेपछि उनले अहिले आयआर्जनको नयाँ बाटो समातेकी छन् ।
“पहिले घरमै बस्ने, काम पनि केही हुँदैनथ्यो,” सार्की भन्छिन्, “तर अहिले गुडिया बनाउन थालेपछि समय पनि उपयोग भयो र कमाइ पनि हुन थालेको छ ।”
त्यस्तै तुलसीपुर–६ की मीना लामिछाने पनि अचार उत्पादनमा व्यस्त छन् । घरमै उत्पादन हुने लसुन, खुर्सानी, बोडी, टिमुरलगायतका सामग्री प्रयोग गरेर उनी विभिन्न प्रकारका अचार तयार गरी बिक्री गर्दै आएकी छन् ।
पहिले सामान्य खर्चका लागि घरका सदस्यसँग माग्नुपर्ने अवस्था रहेको बताउँदै लामिछाने भन्छिन्, “अब भने आफ्नै कमाइ हुन थालेपछि घर खर्चमा पनि सहज भएको छ ।”
उनीहरू जस्ता धेरै महिला अहिले तुलसीपुरमा स्वरोजगारतर्फ उन्मुख भएका छन् । सेवा प्रतिष्ठान दाङको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको आर्थिक सहयोगमा सञ्चालन गरिएको १५ दिने अचार उत्पादन तथा गुडिया निर्माण तालिमपछि महिलाहरू आयआर्जनमा जोडिएका हुन् ।
तुलसीपुर–६, ७ र ९ नम्बर वडाका महिलालाई लक्षित गरी सञ्चालन गरिएको उक्त तालिममा २५ जनाले अचार उत्पादन र ४७ जनाले गुडिया निर्माण सम्बन्धी सीप सिकेका थिए ।
सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गिरीराज पाण्डेका अनुसार सहभागी महिलाहरूले ११ प्रकारका अचार र ९ प्रकारका गुडिया बनाउन सिकेका छन् ।
तालिममा खरायो, पाण्डा, गणेश, टायर कुसन, लभ कुसन, फ्लावर कुसन, चारकुने कुसन जस्ता गुडिया बनाउन सिकाइएको थियो । त्यसैगरी बोइलर अचार, मिक्स अचार, टिमुर, बोडी, करेला, कागती, लसुन र अदुवालगायत विभिन्न प्रकारका अचार बनाउन प्रशिक्षण दिइएको थियो ।
सीपमूलक तालिमपछि महिलाहरू आत्मनिर्भर बन्दै घरमै बसेर आम्दानी गर्न थालेका छन्, जसले उनीहरूको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुगेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस