काठमाडौं । नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने प्रयासस्वरूप परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा उच्चस्तरीय कूटनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा शनिबार भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भएको भेटवार्तामा दुई देशबीचको व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा केन्द्रित छलफल भएको छ ।
दुवै मन्त्रीबीच भएको वार्तामा नेपाल–भारत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्नुका साथै आगामी सहकार्यका प्राथमिकता तय गर्ने विषयमा विचार आदानप्रदान भएको बताइएको छ । विशेषगरी सीमापार पूर्वाधार विस्तार, ऊर्जा व्यापार, जलस्रोतको उपयोग तथा आर्थिक साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयले प्राथमिकता पाएको छ ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार छलफलमा दुई देशबीच सञ्चालनमा रहेका परियोजनाको प्रगति, कार्यान्वयनमा देखिएका चुनौती तथा तिनलाई छिटो सम्पन्न गर्ने उपायबारे समेत समीक्षा गरिएको थियो। दुवै पक्षले विकास साझेदारीका परियोजनालाई थप गति दिन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय विदेशमन्त्री जयशंकरले पनि भेटपछि सामाजिक सञ्जालमार्फत नेपालसँगको सहकार्यलाई अझ विस्तार गर्ने विषयमा सकारात्मक संवाद भएको उल्लेख गरेका छन् । उनले व्यापार, लगानी, सम्पर्क सञ्जाल र ऊर्जा क्षेत्रमा सहकार्य विस्तारलाई दुई देशका साझा प्राथमिकताका रूपमा चित्रण गरेका छन् ।
खनालको भ्रमण केवल सरकारी भेटवार्तामा मात्र सीमित रहेन। उनले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग पनि भेट गर्दै राजनीतिक तथा क्षेत्रीय विषयमा छलफल गरेका छन् । त्यस्तै, इण्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र साझा समृद्धिको एजेन्डाबारे आफ्नो धारणा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस