logo

२०८१ पुष १३ शनिबार

logo
  • शनिबार, १३ पुष २०८१
  • जयसिंह बेपत्ता प्रकरण : भारतीय राजदूतलाई बोलाएर विरोध गर्न सांसदको माग 

    जयसिंह बेपत्ता प्रकरण : भारतीय राजदूतलाई बोलाएर विरोध गर्न सांसदको माग 

    1.7K
    Shares

    काठमाडौं। प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले भारतीय एसएसबीले तुइन चुडाइदिएका कारण महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामी प्रकरणको सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्ने बताएका छन्। 

    प्रतिनिधि सभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर बोलेका सांसद ठगुन्नाले सरकारले यस घटनालाई संवेदनशील रुपमा नलिएको बताएका हुन्। 

    भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउदै दोषी उपर कारबाही गर्न पनि पनि सरकारसँग माग गरेका छन्। 

    उनले सरकारले कर्मचारी स्तरबाट छानविन समिति गठन गरेर घटनालाई साम्य पार्ने प्रयास गरेको आरोप पनि लगाए। 

    ‘सिमामा यसरी नेपाली नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानविन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ। सरकारले यो घटनालाई संवेदनशील लिएको देखिदैँन’, उनले भने। 

    तुइनका कारण सिमामा यस्ता घट्ना घटिरहने गरेको भन्दै दार्चुला-खलंगा-तिङ्कर-कालापानी सडकखण्डलाई राष्ट्रिय गौरवको सडक घोषणा गरेर दीर्घकालीन समस्या समाधानमा ध्यान दिन पनि जोड दिए। 

    उनले दार्चुला घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न पनि माग गरे। ‘दार्चुला-खलंगा-तिङ्कर-कालापानी सडकलाई राष्ट्रिय गौरवको सडक तत्काल घोषणा गरियोस् र यो पुरै सडक नेपाली सेना र स्थानीय युवा संलग्न गरेरअभियानका रुपमा पुरा गरियोस्’, उनले भने, ‘यो घटनाको छानबिनको लागि संसदीय छानबिन समिति गठन गरियोस्। यो घटनाको औपचारिक रुपमा भारतसमक्ष विरोध दर्ता गरियोस् र दोषीलाई कारबाही गर्न पहल गरियोस्। मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइयोस्।’

    सांसद ठगुन्नाले सरकारले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको र संसदलाई बिजनेसबिहिन बनाएको भन्दै आलोचना पनि गरे। सत्तासम्बद्ध दल भागबन्डाको किचलोमा रुमल्लिइरहेको उनको आरोप छ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend