काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री कार्यालयमा पाँच दिनसम्म बन्धक बनाइएको विषयको चर्को निन्दा गरेको छ । शुक्रबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उक्त घटनाको निन्दा गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई अपहरण गरेर मुख्यमन्त्रीको निवासमा राखेको बताएकोप्रति गम्भीर ध्यानाकर्षणा भएको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले यो प्रकरणको निन्दा गर्ने निर्णय भएको बताए ।
‘लोकतन्त्र, राजनीतिक, मानवअधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठहर गर्दै घटनाको निन्दा गरेको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘राजनीतिमा यो हदसम्मको क्रियाकलाप भएको प्रति माओवादीले चिन्ता प्रकट गरेको छ ।’
माओवादीले सुकुम्बासी आयोग गठनको माग गर्ने निर्णयसमेत गरेको छ । संविधान र कानुनका आधारमा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न तत्काल उच्चस्तरीय आयोग गठन गर्न बैठकले सरकारसँग अनुरोध गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।
त्यसैगरी बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनले तयार पारेको ‘सरकारको साझा न्युनतम कार्यक्रम’ सार्वजनिक गर्ने निर्णय गरेको श्रेष्ठले बताए । माओवादीले साझा कार्यक्रम तयार गरेकोप्रति कार्यदललाई धन्यवाादसमेत दिएको छ ।