काठमाडौं। नेपाली मुलकी फुटबलर अस्मिता आले इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाममा अनुबन्ध भएकी छन्। २० वर्षीया अस्मितासँग टोट्टनहामले सन् २०२३ सम्मका लागि सम्झौता गरेको छ।
बेलायतमै बस्दै आएकी अस्मिता गोल रक्षक (डिफेन्डर) हुन्। उनी अब पहिलो रोजाइको रक्षकका रुपमा टोट्टनहामबाट खेल्नेछिन्।
यसअघि उनी एस्टन भिल्लाबाट खेल्दै आएकी थिइन्। अस्मिता पूर्वगोर्खा सैनिक अमृत आलेकी छोरी हुन। अमृतको पुख्यौली घर तनँहु दमौली हो।
बेलायतमै हुर्किएकी अस्मिता एस्टन भिल्लाको एकेडेमीबाट खेल्दै आएकी थिइन्। उनी आठ वर्षको उमेरदेखि एस्टन भिल्लाको एकेडेमीमा आबद्ध भएकी थिइन्। उनलाई दुई वर्षअघि एस्टन भिल्लाले व्यवसायिक सम्झौता गरेको थियो।
उनले उमेर समूहको हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन्। एस्टन भिल्लापछि उनले अझै ठूलो क्लब टोट्टनहामबाट मौका पाएकी हुन्।
‘व्यवसायिक फुटबल खेल्ने मेरो सानै देखिको सपना थियो। टोट्टनहाममा व्यवसायिक रुपमा अनुबन्धित हुन पाउँदा थप खुशी लागेको छ। म अझै आत्मविश्वासी भएकी छु,’ अस्मिताले भनेकी छन्।
अस्मिताले इङल्यान्डको यू–१९ राष्ट्रिय महिला टोलीबाट खेलिसकेकी छिन्। उनले युइएफए वुमन्स यू–१९ च्याम्पियनसिप छनोट खेल पनि खेलेकी थिइन्। अस्मिता प्रिमियर लिगमा स्थान बनाउने नेपाली मुलकी पहिलो खेलाडी समेत बनेकी छन्।