काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबारदेखि सुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा भिडियो सन्देश दिँदै देउवाले यस्तो बताएका हुन्।
सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा उनले जोड दिएका छन्।
प्रधानमन्त्री देउवाले कोरोना भाइरस माहामारीको तेस्रो लहर छिट्टै हुने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताए।
देउवाले भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैलाई अनुरोध गरेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले मास्क र खोप अभियानलाई वडावडामा स्वयंसेवक राखेर सफल पार्नुपर्छ भन्दै कोभिड–१९ महामारीले स्वास्थ्य सेवासँगै आर्थिक क्रियाकलापमा पनि गम्भीर असर पु¥याएको हुँदा सङ्क्रमण नियन्त्रण गर्नका लागि खोप र जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैमा आग्रह गरे।
राज्यमन्त्री श्रेष्ठले सही ढङ्गबाट मास्क लगाउने र मास्क लगाउन उत्प्रेरित गर्नका लागि अभियान सुरु गरिएको बताए।
मास्कको सही प्रयोगले सङ्क्रमण हुन दिँदैन त्यसैले मास्कको सही प्रयोग गर्नुपर्नेमा उनले जोड दिएका हुन्। राज्यमन्त्री श्रेष्ठले सङ्क्रमणबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको भन्दै सबै नेपालीमा छिटोभन्दा छिटो खोप पु¥याउन सरकार प्रतिबद्ध रहेको बताए।
उनले निषेधाज्ञा खुकुलो भएसँगै मानिसको भीड बढेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना नहुँदा सङ्क्रमण बढेर अस्पतालमा पनि बिरामी भर्ना हुने दर बढेको उल्लेख गरे।
स्वास्थ्य सचिव डा रोशन पोखरेले मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएकाले अभियान सञ्चालन गर्नुपरेको बताए।
उनले जनस्वास्थ्य मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि हेलचक्र्याइँ गरेकाले स्वास्थ्य मापदण्ड र मास्कको महत्वबारे जानकारी गराउन अभियान गरिएको जानकारी दिए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी विच्छाले घर बाहिर निस्कँदा मास्क लगाएर मात्र निस्कन आग्रह गरे।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश पाण्डवले मास्क लगाउनु आफ्नो समुदायप्रति सहयोगी बन्नु पनि रहेको बताए।