काठमाडौं। आसन्न १३ औं साफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पोखरामा प्रशिक्षण गर्ने भएको छ।
टोलीले पोखरा रंगशाला नेपाली सेनाको विजयपुर बाहिनी, शसस्त्र प्रहरी बल खेल मैदान र सहारा एकेडेमीमा प्रशिक्षण गर्ने एन्फाले जनाएको छ।
साफका लागि प्रारम्भिक टोलीमा रहेका ३६ खेलाडी, प्रशिक्षक र ब्यवस्थापक सहित ४५ सदस्यीय टोलीले साउन २६ गतेदेखि दुई साता पोखरा बसेर तयारी गर्न लागेको हो।
टोलीको प्रशिक्षण स्थल अवलोकन गर्नका लागि केही दिनअघि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पोखराको भ्रमण गरेका थिए। एन्फाले साफअघि भारतसँग दुई वटा मैत्रीपूर्ण अभ्यास खेलको घोषणा गरिसकेको छ।
नेपालले भदौ १७ र २० गते दशरथ रंगशालामा भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने निश्चित भइसकेको छ। एन्फाले साफअघिनै बंगलादेश, किर्गिस्ताान र प्यालेस्टाइनसँग पनि नेपाली टोलीलाई मैत्रीपूर्ण फुटबल खेलाउने तयारी गरेको जनाएको छ।
१३औं संस्करणको साफ च्याम्पियनसिप आगामी अक्टोबरमा हुँदैछ। घरेलु मैदानमा आयोजना हुने साफको उपाधि जित्ने लक्षका साथ नेपाली टोलीले प्रशिक्षण समेत सुरु गरिसकेको छ। साफ फुटबलमा यसअघि नेपाल सेमिफाइनल माथि जान सकेको छैन। गतवर्ष नै बंगलादेशमा आयोजना तय भएको साफ च्याम्पियनसिप कोरोनाका कारण एक वर्षपछि सारिएको थियो।
साफमा ५ टोलीको सहभागिता निश्चित भईसकेको छ। जसमा नेपालसँगै माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले भाग लिने छैन।
कोरोना संक्रमणले देशबाहिर जान प्रतिबन्ध लगाइएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ।