एजेन्सी । अफगानिस्तानको जारी हिंसामा परी पछिल्लो तीन दिनमा २७ जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्र संघले जनाएको छ ।
राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले तालिबान र सरकारी फौजबीच भएको लडाइँमा बालबालिकामाथि हिंसामा रुपमा व्यापक बढेको उल्लेख गरेको छ । कान्दाहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएको बताइको छ ।
सोमबार युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको उल्लेख छ।
गत शुक्रबार यता आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको तालिबानले अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई अस्वीकार गरेको छ।
विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण जमाउन सुरु गरेको हो ।
विगत तीन दिनमा ती क्षेत्रहरूमा १३६ भन्दा बढी बालबालिकाहरू घाइते भएको युनिसेफले जनाएको छ।