काठमाडौं । सेवाग्राहीले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटको बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् ।
मंगलबार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका सेवाग्राहीले कोरोनाकालमा भौतिक दूरी कायम गर्न अपील गर्दै आएको सरकारले आवश्यक व्यवस्था नमिलाउँदा भीडमा बसेर राहदानी लिन बाध्य हुनु परेको प्रतिक्रिया दिएका हुन् ।
छोरीको राहदानी लिन रुपन्देही देवदहबाट काठमाडौं आएका दिलबहादुर गुरुङले सरकारले आफैंले आवश्यक व्यवस्था नमिलाएका कारण कोरोना संकटमा भीडमा बसेर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।
उनले भौतिक दूरीमा बसेर काम गर्न नियम बनाउने सरकारले सेवाग्राहीलाई समेत भीडमा बसेर राहदानी लिने अवस्था बनाएको भन्दै सरकारको चर्को आलोचना गरे । गुरुङले प्रदेश र स्थानीय तहबाटै राहदानी लिने आवश्यक व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेका छन् ।
उता, धनुषाबाट आएका धीरेन्द्रकुमार साहले दस्तुर तिरेर पनि समयमै राहदानी पाउने अवस्था नरहेको गुनासो गरे । उनले कोरोनाकालमा पनि राहदानी लिनका लागि सामाजिक दूरी कायम गर्ने व्यवस्था सरकारले गर्न नसकेको, सोधपुछ गर्ने ठाउँसमेत विभागमा नभएकाले आफूहरु अलमलमा परेको बताए ।
राहदानी नविकरणका लागि बिहानै पुगेका भक्तपुर दुवाकोटका तेजबहादुर कार्कीले भीडमा बसेर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले कोरोनाको जोखिम मोलेर पनि आफूहरु राहदानी लिन भीडमा बस्न बाध्य हुनु परेको उल्लेख गरे ।
सरकारले भौतिक दूरीको कुरा गरे पनि सेवा लिने बेलामा भीडको व्यवस्थापनसमेत गर्न नसकेकोमा सेवाग्राहीको चर्को गुनासो छ । उनीहरुले काठमाडौंमै आएर राहदानी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।