
काठमाडौं । नेपालका जेलमा ३१ देशका एक हजार दुई सय तीन जना कैदीवन्दीले सजाय भुक्तान गरिरहेका छन्। विदेशी कैदीबन्दीमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतका नागरिकहरु छन्।
कारागार व्यवस्थापन विभागका अनुसार भारतका मात्रै एक हजार ८४ जना कैदीबन्दीले सजाय भुक्तान गरिरहेका छन्। भारतपछि भुटान, पाकिस्तान, बेलायत, नाइजेरिया, बोलिभिया, चीन, बंगलादेशी, फ्रान्स, अमेरिका, जर्मन, तान्जेनिया, नेदरल्याण्ड, आईभरीकोष्ट, बेलारुस, क्यानडा, ईरान, दक्षिण अफ्रिका, डेनमार्क, पपुवान्युगी, माली, सिंगापुर, जोर्डन, अष्ट्रिया, म्यानमार, टोगो, सर्भिया, साउदी अबर, जाम्बिया, पोर्चुगल र ब्राजिलका नागरिकहरु पाली जेलमा छन्।
खुला सीमानाका हिसाबले पनि भारती–नेपाल प्रवेशमा सहज छ। भारतीय नागरिकहरु खासगरी लागूऔषध, चोरी, डकैती, ठगी कर्तब्य ज्यान, अपहरण, तस्करी जस्ता मुद्दामा जेल परेका छन्। बोलिभिया, पोर्चुगल, बेलारुस, ब्राजिल, नेदरल्याण्ड, पपुवान्युगीका नागरिक भने महँगा लागूऔषध कोकिन तस्करीमा पक्राउ परि जेल सँजाय भुक्तान गरिरहेका छन्।
त्यसैगरी आइभरीकोष्टका, नाइजेरियाका नागरिकहरु भने ठगीको अपराधमा जेल सजाय भुुक्तान गरिरहेका छन्। लट्री पर्यो भनेर मोबाइलमा ह्वाट्सएप, भाइवर र इमोमा म्यासेज पठाएर यो समूहले नेपालीलाई ठगी गर्दै आएका थिए।
हाल कैद भुक्तान गरिरहेका फ्रान्स, क्यानडा, नेदरल्याण्ड,बेलायत, जर्मनी, अष्ट्रिया र अमेरिकी नागरिकहरु भने बाल यौन दुराचारको अभियोगमा पक्राउ परेका थिए। फ्रान्सका क्रिष्टियन सर्ज हेनरी, पिटर जोहन, अमेरिकी नागरिक कोनिक जोसेफ कन्मस र क्यानेडियन नागरिक अर्नेष्ट फेनविक म्याकिन्टोस लगायत नौ जना विदेशी नागरिकहरु बाल यौन दुराचारमा पक्राउ परेका थिए। केन्द्री अनुसन्धान ब्यूरोले विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ गरेका यी विदेशी नागरिकहरु जेल भुक्तान गरिरहेका छन्।
विभागका अनुसार भुटानी, चिनियाँ र केही भारतीय नागरिक भने नेपालमा हुने सुन एवं चाँदी तस्करी, ह्याकर, साइबर अपराध, अखेटोपहार तस्करी, चोरीमा संलग्न भएको देखिन्छ।
सर्लाही, खोटाङ, धनकुटा, गोरखा, बाग्लुङ, गुल्मी, मनाङ, मुस्ताङ, प्युठान, गुल्मी, रोल्पा, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, कालिकोट, जाँजरकोट, बाजुरा, बझाङ, डोटी, अछाम, बैतडीबाहेक अन्य कारागारमा विदेशी नागरिकलाई कैदबन्दीको रुपमा राखिएको छ। मुगु र हुम्ला कारागारमा भने स्वदेशी एवं विदेशी कोही पनि कैदीबन्दी राखिएको छैन। धनुषा, बारा, पूर्वी नवलपरासी, भक्तपुर र पूर्वी रुकुम गरी पाँच जिल्लामा बाहेक ७२ जिल्लामा ७४ वटा कारागार छन्। ७४ वटा कारागारमा कूल २४ हजार दुई सय ६५ कैदीबन्दी छन्।
कुन–कुन अपराधका छन् विदेशी ?
चोरी, लागूऔषध, जाली मुद्रा, जाली भिसा, विदेशी विनिमय, हातहतियार तथा खरखजाना, खोटाचलन, सुन चोरी–पैठारी, भिसाको म्याद सकिएका, शरीर बन्धक, अप्राकृतिक मैथुन, हुन्डी, मानव बेचबिखन, अखेटोपहार ओसार–पसार, सरकारी छाप दस्तखत किर्ते, भिसा उद्देश्य विपरित कार्य, ठगी
अझै फरार छन् विदेशी अपराधी
अपराध पुष्टी भइसकेपछि अदालतबाट अन्तिम फैसला भएर पनि फरार भएका विदेशी नागरिक बाट नेपाल सरकारले अरबौँ रुपैयाँ असुल्न बाँकी छ। जिल्ला अदालतबाट फैसला भएका विदेशी नागरिकबाट असुल्नुपर्ने बिगो र जरिवानाको रकम चार अर्ब रुपैयाँभन्दा बढी रहेको प्रहरी मुख्यालयले जनाएको छ।
कर्तव्यज्यान, लागुऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, मानव ओसारपसार, बलात्कार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायत मुद्दा अपराधी फरार छन्। करिब तीन सय ८३ जना विदेशी नागरिक अझै फार छन्।
‘गोल्डक्वेस्ट’ खेलाएर ठगी गरेको अभियोगमा हङकङ नागरिक डोन्ना मारिए ग्लेन इम्सन र भारतीय नागरिक तनबीर निजामबाट मात्र ५३ करोड ६० लाख रुपैयाँ असुल्न बाँकी छ। उनीहरुबाट जनही २६ करोड ७९ लाख ३७ हजार पाँच सय असुल्न बाँकी छ।
नेपालमा अवैध रुपमा भिओआईपी चलाएर अपराध गरेको अभियोगमा चिनियाँ नागरिक ओयु हाओ, झु कमिङ्ग, जिआ नान् विन् र ज्याक्सी पानबाट दामासाहीले ८५ करोड ७५ लाख असुल र डेढ वर्ष कैद ठोक्ने गरी २०६५ सालमा भएको फैसला कार्यान्वयन हुन सकेको छैन। उनीहरु स्वदेशमै छन् कि विदेशमा कुनै खोजखबर छैन। सम्पत्ति शुद्धीकरणमा चियियाँ नागरिक उली साङबाट ६ करोड ७४ लाख ५० हजार रुपैयाँ बिगो र एक वर्ष कैद, भ्रष्टाचार अभियोमा भारतीय नागरिक राजेशकुमार र सुनीत माथुरबाट ९ करोड ३२ लाख बिगो र दुई वर्ष कैद असुल्न बाँकी रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन इकाईले जनाएको छ।
इकाईका अनुसार भ्रष्टाचारकै अभियोगमा भारतीय नागरिक अपाची गाउन्डर चन्दन र यूएईका नागरिक पुलिकन रविन्द्रनबाट २०६२ कात्तिक १३ गते भएको अन्तिम फैसलाअनुरूप एक करोड ४६ लाख असुल्न बाँकी छ। २०७३ चैतमा ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार ठहर भएका चिनियाँ नागरिक चुआन डोङफेङबाट पाँच करोड ८७ लाख ७९ हजार असुल्न बाँकी छ।
सुडानको डार्फर मिसनमा नेपाल प्रहरीका लागि आपूर्ति गरिएका एपीसीलगायत बन्दोबस्तीका सामग्रीमा भएको भ्रष्टाचारको फैसलाअनुरूप बेलायतस्थित एर्स्याेड रिक्स कम्पनीका ठेकेदार माइकल राइडरबाट ४२ करोड ६० लाख २४ हजार असुल गर्नुपर्ने हुन्छ। तर, बेलायतमा नेपालको सुपर्दगी सन्धी नहुँदा उनीबाट जरिवाना असुल्न सहज छैन।
सुपुर्दगी सन्धी र पारस्परिक सहयोगसम्बन्धी कानुनलाई सम्बद्ध राष्ट्रले फरार अपराधी पक्राउका लागि स्वीकृति दिएमात्रै जरिवाना असुल उपरहुने प्रहरी मुख्यालयले जनायो। प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी बसन्त बहादुर कुँबरले सुपर्दगी सन्धी नहुँदा सरकारले दुई देशबीच पारस्परिक सम्बन्धका आधारमा विदेशी नागरिक नेपाल ल्याउन सक्ने बताए। उनले भने,‘ हामीले केही गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई त इन्टरपोलमार्फत नेपाल ल्याउन सफल भएका छौँ। सम्भावना नै नभएका अपराधीका हकमा राज्य नै संवेदनशील भएमा ल्याउन नसकिने होइन।’
कुन देशका कति विदेशी ?
भारत – १०८४
भुटान – २८
पाकिस्तान – २१
बेलायत – ९
नाइजेरिया – ८
बोलिभिया – ८
चीन – ७
बंगलादेशी – ५
फ्रान्स – ५
अमेरिका – ३
जर्मन – २
इरान – २
बेलारुस – २
तान्जेनियाँ – २
नेदरल्याण्ड – २
आईभरीकोष्ट – २
अस्ट्रिया – २
ईरान – २
क्यानडा – १
दक्षिक अफ्रिका – १
डेनमार्क – १
पपुवान्युगी – १
माली – १
सिंगापुर – १
जोर्डन – १
म्यानमार – १
टोगो – १
सर्बिया – १
साउदी अरब – १
जम्बिया – १
पोर्चुगल – १
ब्राजिल – १
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend