काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले आइतबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा गृहमन्त्री खाणले प्रहरी मुख्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी हेल्थ डेक्सबारे चासो राख्दै त्यसका गतिविधिबारे जानकारी लिएका थिए।
प्रहरी मुख्यालयबाटै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई सम्बोधन गरेका थिए । उनले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जीवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने निर्देशन दिएका थिए ।
आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै गृहमन्त्री खाडले हिंसा न्यूनीकरणको लागि गम्भीरतापूर्वक काम गर्न निर्देशन दिए । प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै खाणले प्रहरी–नागरिकबीचको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न नेपाल प्रहरी सक्षम रहेको बताए ।
सुरक्षाको दृष्टिकोणले ज्यादै नै संवेदनशील ठाउँहरुमा आमनागरिक तथा जनप्रतिनिधिहरुबाट प्रहरी कार्यालयहरुको स्थापना, स्तरवृद्धि, आधुनिकिकरणको माग एवम् सुझाव आएको खाडले सम्बोधनका क्रममा उल्लेख गरेका थिए ।
गृहमन्त्रीसँगै मुख्यालय पुगेका गृहसचिव टेकनारायण पाण्डेले विभिन्न अप्ठ्यारा परिस्थितिको सामना गर्दै आफ्नो कर्तव्य पालनामार्फत् नागरिक रक्षा, सुखी राष्ट्र निर्माण एवम् नागरिकको जीवन रक्षाको लागि प्रहरी सदैव दृढ संकल्पित रहेको उल्लेख गरे। उनले प्रहरी संगठनलाई अझ व्यवसायिक, पेशागत, स्रोत साधनयुक्त, प्रविधियुक्त बनाउनुपर्ने चर्चा गर्दै प्रहरी कर्मचारीको मनोवल विकासका लागि प्रभावकारी तवरले काम गर्नुपर्ने सुझाव दिए।
धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी दिनमा नेपाल प्रहरी संगठन थप व्यावसायिक र उर्जावान हुने विश्वास गरेका थिए। उनले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्व रहेको बताउँदै कालोवजारी नियन्त्रण तथा विपद्बाट हुने क्षतिको न्यूनीकरणका लागि नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गरेका थिए।
नेपाल प्रहरीको कार्य योजना २०७७, कार्यसम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोवल विषयमा शोध र प्राप्त सुझावहरुको कार्यान्वयन, प्रहरी कर्मचारीहरुको आचार संहिताको कार्यान्वयन लगायतका विषयले संगठनको पद्धतिजन्य विकास र सुत्रवद्ध परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
प्रविधिको प्रयोगलाई प्राथमिकतापूर्वक अवलम्बन गरी कार्यान्वयन गरिएको बताउँदै क्षेत्रीले फैसला कार्यान्वयन, हातहतियार तथा लागूऔषध बरामद र राजश्व चुहावट रोक्नमा नेपाल प्रहरीले उल्लेखनीय योगदान पुर्याएकाे उल्लेख गरे।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरुलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको सहभागिता थियो ।