एजेन्सी । तालिबानी लडाकूले अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएका छन् । योसँगै तालिबानले आफूहरु विजय भएको दाबी गरेका छन्।
आइतवार अबेर तालिबानहरूले राष्ट्रपति भवनभित्र हातहतियारसहित प्रवेश गरेको तस्बिर सार्वजनिक गरेका थिए । राष्ट्रपति अशरफ घनीले देश छोडेर भागेपछि उनीहरु राष्ट्रपति भवन प्रवेश गरेको अलजजिराले जनाएको छ । तालिबान समूहले दुई हप्ता भन्दा कम समयमा अफगानिस्तानको ३४ प्रान्तीय राजधानीहरु मध्ये २६ लाई कब्जा गरेको हो ।
तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने ‘अफगानिस्तानमा युद्ध सकिएको छ’ ।
तालिबानको सो कदमपछि देश छाडेर गएका घानीले आफू रक्तपात रोक्न भागेको बताएका छन् । फेसबुकमार्फत उनले भनेका छन्, ‘तालिबानले आफ्नो तरबार र बन्दुकको फैसलाले जितेको छ, र अब उनीहरु देशवासीहरुको सम्मान, सम्पत्ति र आत्मरक्षाको लागि जिम्मेवार छन् ।’