काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजन हुँदा माधव नेपाल समूहका नेतासमेत विभाजित भएका छन् । बागमती प्रदेशको मुख्यमन्त्री पाउने पक्का भएपछि नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले गुट परिवर्तन गरेकी छन् ।
बागमतीका मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएर उनकै प्रस्तावमा शाक्यलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि उनले गुट परिवर्तन गरेकी हुन् ।
संसदीय दलको नेतामा डोरमणीकै प्रस्तावमा शाक्य सर्वसम्मत चयन भएपछि उनी मुख्यमन्त्री बन्न लागेकी हुन् । मुख्यमन्त्रीको लोभ देखाएपछि शाक्य गुट परिवर्तन गर्न राजी भएकी हुन् ।
मुख्यमन्त्री पौडेललाई राजीनामा गराएर शाक्यलाई बुधबार नै मुख्यमन्त्री नियुक्त गर्ने गरी तयारी भइराखेको छ । उनले पद तथा गोपनीयताको शपथ भने बिहीबार मात्र लिनेछन् । शाक्य मुख्यमन्त्री बन्ने भएपछि बागमती प्रदेशमा बहुमत रहेका माधव नेपाल समूहका सांसद संकटमा परेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार एमाले औपचारिक रुपमा विभाजित भएको हो । माधव नेपाल नेतृत्वमा नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुँदैछ । पार्टीको चिह्न किताब राखिएको छ ।