एजेन्सी । गत सोमबार काबुलबाट भाग्ने क्रममा अमेरिकी सेनाको कार्गो जहाजबाट झरेर मृत्यु हुनेमा अफगानी फुटबलर रहेको त्यहाँका अधिकारीहरुले पुष्टि गरेका छन् ।
विमानबाट खसेर मर्नेमा १९ वर्षीय जाकी अनवरी रहेको बीबीसीले उल्लेख गरेको छ । राष्ट्रिय किशोर फुटबल टिममा उनी १० नम्बरको जर्सी लगाएर खेल्थे ।
अफगानिस्तानको खेलकुद संघले फुटबलर जाकी अनवारीको जहाजबाट खसेर मृत्यु भएको बिहीबार फेसबुकमार्फत् सार्वजनिक गर्दै दुख व्यक्त गरेको छ । अन्यले पनि सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
सोमबार दिउँसो अफगानिस्तानका स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले पोष्ट गरेको एक भिडियोमा जहाजले रन वे छोडिसकेपछि एक जना खसेको देखिएको थियो । काबुलस्थित हमिद कारजाई विमानस्थलमा अमेरिकी सेनाको कार्गो जहाज उड्न लाग्दा धावनमार्गमा सयौं मानिस दौडिरहेका थिए। कोही बिस्तारै गुडिरहेको जहाजको पखेटामा चढ्न खोज्दै थिए।
तालिबान समूहले काबुल लगायत देश नै कब्जा गरेपछि अफगानी नागरिकहरु आफूलाई सुरक्षित ठाउँमा लाने प्रयासमा छन् । कतिपय देश छोड्न सफल भएका छन् भने कतिपय अझै पनि विमानस्थलमा रोकिएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।