घटना १
साउन २१ गते सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङमा सिरहा धनगढीमाई नगरपालिकाका रिसब महतो सुनको बाला आठ वटा र दुई वटा सुनको औंठीसहित पक्राउ परे।
प्रहरीले सूक्ष्म निगरानी गर्दा उनले जजिरा एयरलाइन्सको उडान हुँदै साउदीबाट काठमाडौं आएका विभिन्न कामदारबाट उक्त सुनका गहना संकलन गरेको देखियो। ४७४ ग्राम उक्त सुन तस्करीमा तिलगंगास्थित खोटाङ हलेसी गेष्ट हाउसका सञ्चालक अम्बर चाम्लिङको संलग्नता देखियो। महतोले यसरी पटकपटक वैदेशिक रोजगारमा गएका कामदारबाट सुन संकलन गरेको प्रहरी अनुसन्धानबाट खुल्यो।
घटना २
साउन १२ गते गोरखाका पदम परियार विमानस्थलको भन्सार जाँच क्षेत्रको एक्स–रे मा लगेज जाँच गर्दा एक किलो एक सय ६५ ग्राम सुनसहित पक्राउ परे। हिमालयन एयरको उडानद्वारा दुवईबाट काठमाडौं उत्रिएका परियारले सुनकेश भित्र कफी मेकरको मेसिनमा कप आकारमा सुनलाई फल्सबटम बनाएर लुकाएर ल्याएका थिए। भन्सारमा लगेज जाँच गर्ने क्रममा अस्वभाविक व्यवहार देखाएका परियार सुनसहित समातिएपछि कबुल स्वीकार गरे ।
घटना ३
गत वैशाख १३ गते नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२३० मा दुवईबाट काठमाडौं उत्रिएका धादिङका सन्दीप तामाङ पक्राउ परे। उनले लगेजभित्र टेबुल फ्यान र स्पिकर भित्र फल्सबटम बनाएर सुन ल्याएका थिए। विमानस्थलको भन्सारमै एक्स–रे मेसिनमा लगेज जाँच गर्ने क्रममा तामाङको कर्तुत छताछुल्ल भयो। तामाङले लुकाएर ल्याएको सुनको तौल ८६१.८२ ग्राम थियो।
माथिका यी तीन घटना विदेशबाट आउने कामदार तथा यात्रुले सुन तस्करीमा विभिन्न काइदा रचेका केही प्रतिनिधिमूलक घटना मात्रै हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र भन्सारका कर्मचारीको सुझबुझबाट तस्करीका सुन बाहिर बजारमा जानबाट रोकिएका छन्। भन्सारका कर्मचारीको आँखा छल्न तस्करले विभिन्न तौरतरिका अपनाउँदै आएको देखिन्छ। केहीले त कानुनसम्मत रुपमा सुन विभिन्न गरगहनाका रुपमा ल्याए पनि विमानस्थलबाहिर पुगेपछि सम्पर्कमा आधारमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई सुम्पदै आएको देखिन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार विदेशबाट थोरै परिमाणमा सुन ल्याएको देखिएपछि संगठित रुपमा तस्करी बढेको देखिन्छ । प्रहरी र भन्सारको आँखा छल्न तस्करले राइस कुकरको पिंधको भागमा, सुटकेशको विंड, एक्जिस्टिङ्ग फ्यान तथा साउन्ड स्पिकर, सर्टको टाँक, ब्याट्री लगायत वस्तुमा फल्सबटम बनाएर सुन ल्याउने गरेको पाइएको छ ।
एसएसपी बास्तोलाका अनुसार गत असोज २५ देखि साउन २६ सम्ममा १० किलो सात सय नौ ग्राम सुन बरामद भएको छ। बरामद सुनको मूल्य एक करोड ४४ लाख ६० हजार ६ सय ९० रुपैंया हुन आउँछ। सुन तस्करीमा संलग्न ३८ जना नेपाली नागरिक पक्राउ परेका छन्।
‘सुन तस्करीमा विदेशी कामदारका प्रयोग बढ्यो’
एसएसपी राजेशनाथ बास्तोला
प्रमुख, विमानस्थल सुरक्षा गार्ड
विगतमा जस्तो भिजिट भिसामा विदेश जाने र सुन बोकेर सेटिङमा काठमाडौं आउने क्रम अहिले रोकिएको छ। अहिले ‘गल्फकन्ट्री’ मा काम गर्न गएका कामदारले सुन बोकेर आउँछन्। उताका तस्करले गरगहनाको रुपमा सुन भिडाएर पठाउने र यता विमानस्थलमा झरिसकेपछि बाहिर पुगेर कलेक्सन गर्ने क्रम बढेका छ। जनकारी भएसम्म हामीले पक्राउ गरेर भन्सारलाई बुझाएका छौं।
कानुनी रुपमै ५० ग्रामसम्म सुन बोकेर ल्याउन पाइन्छ। त्यही कानुनलाई टेकेर सुन कामदारले बोकेर ल्याउने गरेका छन्। एक जनालाई पाँच देखि १० हजार रुपैंया दिएर सुन बोकाएर पठाउने गरेको पाइयो। यहाँ ल्याउने एउटा हुन्छ। संकलन गर्ने अर्को। हेर्दा एउटाले थोरै परिमाणमा ल्याएजस्तो देखिन्छ। संकलन गर्दा त्यो धेरै हुन्छ।
दोश्रो भनेको सुरक्षा जाँच छल्न विभिन्न वस्तुमा फल्सबटम प्रयोग गरेर सुन ल्याइरहेका छन्। एक्स–रे मेसिनले देखिएसम्म र प्रहरीले शंका लागे निगरानी गरेर पक्राउ गरेका छौं। अहिले कोरोना महामारिले पनि होला विमानस्थलमा चापाचाप छैन। तस्कर उम्कन पाएका छैनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ। विमानस्थलको सम्पूर्ण सुपरीवेक्षण, रेखदेख तथा निगरानी ४३५ वटा सीसीटीभीले गरिरहेका छन्। ब्यागेज लोड÷अफलोड गर्दा हुने सक्ने चोरी तथा टुटफुट नियन्त्रण गर्न ‘एईई बडी वर्न क्यामेरा’ ले सम्पूर्ण गतिविधिको भिडियो रेकर्ड गराएका छौं। ब्याक थु्र मेटल डिटेक्टर गेट, ह्याण्ड हेल्ड मेटल डिटेक्टर, एक्स–रे मेसिनमा २४ सैं घण्टा प्रहरी र भन्सारका कर्मचारी खटिएका छन्। विमानस्थल सुरक्षाका लागि विमानस्थलको पेरिमिटर वरपर नेपाली सेना र प्रहरीका पोष्ट राखिएका छन्। १, २, ३, ५, ६, ७, ८, ९ र १० नम्बर पोष्टमा नेपाली सेनाले र ४ नम्बर पोष्टमा प्रहरीले पहरा दिएर सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। विमानस्थलको अध्यागमन काउन्टर, मुद्रा सटही काउन्टर, डिर्पोट कक्ष र बैंक वरपर अध्यागमन, भन्सार, राष्ट्रिय अनुसन्धान विभागसँगै प्रहरीकै अन्य मातहत विशेष व्यूरो, लागू औषध नियन्त्रण व्यूरोको टोली ब्यागेज क्लेम एरियामा खटिने गरेका छन्।
त्यसैगरी होल्ड ब्यागेज एरियामा पनि यी निकायका सुरक्षाकर्मी खटिंदै आएका छन्। समग्रमा सुरक्षा व्यवस्थामा हामीले कुनै छुट दिएका छैनौं।