काठमाडाैं । अफगानिस्तानमा नयाँ सरकार गठन गर्न तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादर राजधानी काबुल पुगेका छन् । तालिबानका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी एएफपीसँग समावेशी सरकार गठनका लागि बरादरले काबुलमा जिहादी नेता र अन्य व्यक्तिसँग भेटवार्ता गर्ने बताएको बीबीसीले उल्लेख गरेकाे छ ।
बरादर सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका थिए । त्यसपछि सन् २०१८ मा उनलाई कतार पठाइएको थियो । दोहामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि बरादरलाई तालिबानको राजनीतिक कार्यालय प्रमुखमा नियुक्त गरिएको थियो ।
बरादर कतारबाट मंगलबार अफगानिस्तानको दोस्रो ठूलो सहर पुगेका थिए, जसलाई तालिबानको जन्मभूमि पनि मानिन्छ ।
केही दिनअघि तालिबानले राजधानी काबुल कब्जा गरेपछि त्यहाँका राष्ट्रपति असरफ गनी राष्ट्रपतिको कार्यालय छाडेर भागेका छन् । उनी यूएईमा सपरिवार शरण लिएर बसेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
याे पनि पढ्नुहाेस् ।
अफगानिस्तानमा एक नजर : तालिबानको कुन नेताले सम्हाल्लान् सत्ता ?