एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा इस्लामिक स्टेट आइएस समूहले आक्रमण गर्नसक्ने अमेरिकाले चेतावनी दिएको छ ।
अमेरिकाले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गर्दै काबुल विमानस्थालमा आइएसले आक्रमण गर्नसक्ने चेतावनी दिएको हो । शनिबार चेतावनी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकलाई घरबाहिर निस्कँदा सुरक्षा खतराबाट जोगिन अपील गरेको हो ।
अमेरिकी सरकारको प्रतिनिधिसँगै रहेका एक्लो व्यक्तिलाई मात्र यात्रा गर्नको लागि भनिएको छ । अमेरिकी रक्षा अधिकारीले अहिलेको अवस्था नियालीरहेको र दोस्रो बाटो खोजिरहेको बताएको छ ।
आइएसको तर्फबाट हुनसक्ने संभावित आक्रमणको कुनै जानकारी सार्वजनिक भएको छैन भने काबुलमा आक्रमणको लागि सार्वजनिक धम्की पनि दिइएको छैन । विमानस्थल टर्मिनलको बाहिर लगातार जारी हंगामाको बीत शनिबार अमेरिकाले आफ्ना नागरिकलाई सचेत रहन अपील गरेको हो ।
एक हप्ता अघि चरमपन्थी समूह तालिवानले पुरै देश समेत राजधानी काबुलमा कब्जा गरेको थियो ।
शनिबारसम्ममा विमानस्थलबाट २५ सय अमेरिकी नागरिकसहित १७ हजारले अफगानिस्तान छाडेका अमेरिकी रक्षा विभागले बताएको छ । तालिवानले अफगानिस्थान कब्जामा लिएपछि काबुल विमानस्थलल अमेरिकी सुरक्षाबलको नियन्त्रणमा छ ।