कतिलाई भयो कारबाही ?
घटना १
प्रहरी कल्याण कोषद्वारा नक्सालमा सञ्चालित पेट्रोलपम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्की भ्रष्टाचार गरेको आरोपमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हिरासतमा छन्। गत साउन ३१ गते उनलाई प्रहरी मुख्यालयकै सहयोगमा अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो। उनीविरुद्ध बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी एक करोड तीन लाख ९७ हजार नौ सय ३७ रुपैयाँ ५४ पैसा हिनामिना एवं हानी नोक्सानी गरेको आरोप छ।
…
घटना २
भन्सार चोरी निकासीका सामानसहित पक्राउ परेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ६० हजार घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठविरुद्ध गत असार ३१ गते आयोगले घुस/रिसवत लिएर भ्रष्टाचार गरेको आरोपमा हिरासतमा लिई विशेष अदालतमा आरोप पत्र दायर गर्यो।
चावहिलस्थित वल्र्ड टाउन क्याफे एन्ड पब रेष्टुरेन्टका सञ्चालक अनिश जोशीलाई घुसको रकम लिन लगाएकी थिइन्। जोशीले हवल्दार श्रेष्ठले भने बमोजिम थुनाबाट छुटाउन सेवाग्रहीबाट ६० हजार घुस लिएको स्वीकारेपछि उनीविरुद्ध मुद्दा चलाउन आयोगलाई थप प्रमाण जुटेको थियो।
…
घटना ३
सुन व्यवसायीका मुद्दा मिलाइदिने भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी हवल्दार बाबुराम घिमिरेले तीन लाख ९९ हजार पाँच सय रुपैंया घुस लिएको कसुरमा आयोगले गत असार २९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्यो। अनुसन्धान क्रममा हवल्दार घिमिरेले अर्का सुन व्यवसायी राजकुमार स्वर्णकारमार्फत उक्त रकम लिएको पाइएको थियो। आयोगले स्वर्णकारविरुद्ध पनि मुद्दा दायर गरेको थियो। रकम नदिए नक्कली फाइल खडा गरेर मुद्दा चलाइदिने धम्की दिएर घिमिरेले घुस मागेका थिए।
….
माथिका यी तीन घटनाले प्रहरीको तल्लो दर्जामा मौलाउँदै गरेको भ्रष्टाचारलाई पुष्टि गर्छ। प्रहरीले अहिले पनि ‘घुस’ माग्छ र ? भन्ने आमनागरिकको चासोलाई यी प्रतिनिधिमूलक घटनाले उत्तर दिएका छन्। ७७ हजार बढी फौजमा दूधले नुहाएका प्रहरी कमै छन्। पहिले भनिथ्यो,‘नेतृत्व मात्रैले पनि घुस नखाने हो भने मातहत (तलका निकाय) लाई सुधार्न सजिलो हुन्छ। भ्रष्टाचार नियन्त्रणमुखी हुन्छ।’
अहिलेको प्रहरी नेतृत्व प्रहरी सेवामा प्रवेश गरे देखिँनै कुनै पनि भ्रष्टाचारमा मुछिएका छैनन्। मातहतलाई निर्देशन दिने क्रममा भ्रष्टाचार आफूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने चेतावनी दिन्छन्। तर, तल्लो दर्जामा मौलाउँदै गएको भ्रष्टाचारमा उनका योजना भने प्रायः शून्य छन् । केवल आदेश र निर्देशनको भरमा मात्रै भ्रष्टाचार शून्य हुन्छ त ? भन्ने प्रश्न प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीमाथि तेर्सिएको छ ।
प्रहरी महानिरीक्षककै प्रत्यक्ष मातहतमा रहेको उजुरी छानविन शाखा छ। यो शाखामा मातहतबाटै असन्तुष्ट प्रहरीले आफ्नै कर्मचारीविरुद्ध, सरकारको हेलो खबर, अख्तियारमा परेका उजुरी र आम सर्वसाधरणले दिएका उजुरीबारे आन्तरिक छानबिन हुन्छ। छानबिनबाट दोषी देखिए कारबाहीको लागि सिफारिस गर्छ। उजुरी छानविन शाखामा प्रहरी कर्मचारीले रक्सी मागेको, पैसा मागेका, मुद्दा मिलाइदिने भनेर पैसाका लागि धम्क्याएका, हाकिमले जबर्जस्ती हप्ता असुली गर्न चेतावनी दिएका लगायतका विषयमा उजुरी आउने गर्छन्।
आर्थिक वर्ष ०७७/७८ मा आचरण विपरित उन्नाइस सय ८२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। कारबाही परेका मध्ये ठूलो संख्या तल्लो दर्जाकै छन्। मुद्दा मिलाइदिने, मुद्दा नचलाउने, अपराधमा फसाइदिने, कमजोर फाइल सरकारी वकिलमा पेश गर्ने लगायतका विषयमा प्रहरीले सेवाग्रहीबाट घुस माग्ने गरेको विभिन्न घटनाक्रमले पुष्टि गर्छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत इलाका प्रहरी कार्यालय सीतागञ्जमा कार्यरत प्रहरी जवान कासिन्दर यादवले उजुरी मिलाईदिने नाममा सेवाग्रहीबाट ४० हजार रुपैंया लिएको आरोपमा अख्तियारले भ्रष्टाचारमा मुद्दा दायर गरेको थियो गत असार २६ गते। गत पुस २८ मा जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत इलाका प्रहरी कार्यालय बेलचौतामा कार्यरत हवल्दार शान्ति भण्डारीले पक्राउ परेका व्यक्ति छुटाइदिएको भन्दै १० हजार रुपैयाँ अख्तियारले पक्राउ गरेको थियो। असोज १६ मा सप्तरीस्थित प्रहरी चौकी तिलाठीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सिकन्दर प्रसाद कानुले नियन्त्रणमा लिइएको मोटरसाइकल छुटाइदिने नाममा सेवाग्रहीबाट ५० हजार रुपैंया लिएका थिए। गत कात्तिक १ गते इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र सहानी र निजको श्रीमती निर्मला केवटले धरौटीमा छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीसँग चार लाख घुस लिइरहेको अवस्थामा पक्राउ परेका थिए। असोज २३ मा इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेमा कार्यरत प्रहरी हवल्दार राजेशबहादुर द्वाल, असार २३ मा सर्लाहीस्थित प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक (सई) राम विश्वास राय यादव, असार ११ मा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की जेठ २९ मा घुस/रिसवतसहित पक्राउ परेका थिए। यी मध्ये अधिकांशको मुद्दा टुंगिसकेको छ। केही छुटे, केही पुर्पक्षमै छन्।
अख्तियारले गर्ने स्टिङ अपरेशनले जबर्जस्ती पैसा भिडाएर फसाउने गरेको चर्चा पनि उत्तिकै छ। तर, घुस लिने व्यक्तिको नियतमा भरपर्छ। प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी बसन्तबहादुर कुँबर प्रहरी आचरण र व्यवहारका विषयलाई नियमावली र आचारसंहिताले समेटिए पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको स्वीकार गर्छन् । ‘आर्थिक पारदर्शीता, भ्रष्टाचारमा शून्य सहनशीलता र प्रहरी आचरण व्यवहारको कुरा हामीले नियमावली र आचारसंहितामा प्रष्ट लेखेर सर्कुलर नै गरेका छौं,‘कुँबरले सुनौलो नेपालसँग भने,‘ पहिले जस्तो सेटिङमा हुने ठूला भ्रष्टाचार अहिले ठ्याम्मै बन्द भएको छ। तल्लो तहका केहीले आफ्नै रिक्समा घुस लिन्छ भने उसले कारबाही पनि भोगेको छ।’
व्यक्तिले गरेको गल्ती र कमजोरीलाई समग्र संगठनलाई नै मुछ्न नमिल्ने तर्क कुँवरको छ। कुँबरले भने,‘कतिपयमा घुस लिने मनोवृत्ति देखिन्छ, जहाँ गए पनि आर्थिक अपारदर्शीता, लेनदेनमा जोडिइराखेको देखिन्छ । त्यस्तालाई हामीले विभागीय कारबाही गरेका छौं।’ उनले पेट्रोल पम्पको भ्रष्टाचारको फाइल प्रहरी मुख्यालयले नै अख्तियारमा बुझाएको उदाहरण दिँदै भने,‘ अहिलेको नेतृत्वको पहिलो अठोट भनेकै भ्रष्टाचार शून्य सहनशीलता हो । उहाँले भ्रष्ट कर्मचारीलाई कारबाही गर्ने विषयमा कसैको दबाव र प्रभावमा रोकिनुहुन्छ।’
तल्लो तहमा धेरै भ्रष्टाचार
नारायणप्रसाद रिसाल
प्रवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अख्तियारमा आएका उजुरी अनुसार कारबाही गर्दा तल्लो तहका प्रहरी कर्मचारी धेरै कारबाही गरेको देखिन्छ। तर माथिल्लो तहमा भ्रष्टाचार छँदै छैन भनेर भन्ने निकाय हाम्रो होइन । त्यसको छुट्टै अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ। उजुरी आउँछ । हामीले त्यसको यथार्थताको बारेमा अनुसन्धान गरेपछि मात्रै सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर छानबिन गर्छौं।
अख्तियारले यो सानो पद र ऊ ठूलो पद भनेर कारबाही गर्ने होइन। जो–जस्का विरुद्ध उजुरी आए पनि छानविन गर्छ। दोषी देखिए कारबाही गर्छ। गरिरहेका पनि छौं । नेपा
ल प्रहरी र सशस्त्रका केही पूर्व प्रहरी महानिरीक्षक विरुद्ध पनि हामीले मुद्दा चलाएकै हौं। पछिल्लो समय अख्तियारमा परेको उजुरीको ट्रेन्ड र संख्या हेर्दा प्रहरीका तल्लो तहमा भ्रष्टाचार धेरै छ भन्ने देखिन्छ।
तल्लो तहमै किन भ्रष्टाचार ?
सूर्यनाथ उपाध्याय
पूर्वप्रमुख आयुक्त, अख्तियार
भ्रष्टाचार गर्नु हुँदैन र गर्न दिनु हुँदैन। यो त कर्मचारीलाई सुरुकै दिन देखि भन्दै आएको विषय हो। तर पनि गर्न छाड्दैनन्। किन ? तल्लो तहका कर्मचारीको असीमित आवश्यकता, लत, अभिलासा लगायत कारणले उसले घुस लिने गर्छ। अहिलेको महँगी अनुसार उसले पाउने तलब सुविधा के छ ? असीमित आवश्यकता तलबले पूर्ति गर्न सक्दैन। अर्को कुरा भनेको माथिल्लो निकायबाट हुने सुपरीवेक्षणको अभाव मुख्य कारण हो। त्योसँगै आफूमाथिका हाकिम नै भ्रष्टाचारमा लिप्त छ भने तलका दर्जालाई पनि सजिलो भो। कतै तलकालाई माथिबाटै दबाब दिइएर त भ्रष्टाचार गर्न दिइएको छैन ? यो अनुसन्धानको विषय हो।
अख्तियारले घुससहित पक्राउ गरेका व्यक्ति छुटेर नियमित काममा फर्किन्छन्। त्यहाँ के कमजोरी भो ? त्यो पनि खोजबिनकै विषय हो। कर्मचारीलाई कडा कारबाही नगरी उम्कियो भने त्यसले झन् उसलाई भ्रष्टाचार गर्ने आत्मबल बढाउँछ। नीतिगत तहमा हुने भ्रष्टाचार सरकारी तबरबाटै नियन्त्रण जरुरी छ। बाँकी सानातिना लेनदेन र घुसखोरी नियन्त्रण तत्तत् कार्यालयबाटै सम्भव छ। यसका लागि निरन्तर खबरदारी, अनुगमन तथा निरिक्षण, सुपरीवेक्षण हुन जरुरी छ।
कुन निकाय उजुरीमा के भयो ?
अख्तियार – ३७ उजुरी, ३१ फर्छ्यौट, ६ वटा अनुसन्धानमै
गृह मन्त्रालय – १४५ उजुरी, १४२ फर्छ्यौट, ३ वटा अनुसन्धानमै
राष्ट्रिय सतर्कता केन्द्र – १२५ उजुरी, ९९ फर्छ्यौट, २६ वटा अनुसन्धानमै
प्रहरी मुख्यालय – २८१ उजुरी, २४७ फर्छ्यौट, ३४ अनुसन्धानमै
ई–कम्प्लेन – २१७ उजुरी, २१० फर्छ्यौट, ७ वटा अनुसन्धानमै
फेसबुक डेस्क – ३ उजुरी, ३ फर्छ्यौट
मिडिया – १७ आरोप, १७ फर्छ्यौट
को कति कारबाहीमा ?
एसपी – ४
डीएसपी – ७
इन्सपेक्टर – ३२
सई – ९२
असई – १५३
हवल्दार – ५०६
जवान – ११६३
प्रकास – २५
जम्मा : १९८२