
काठमाडौं । दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै हास्यव्यङ्ग्य र ख्यालठट्टासहित सोमबार काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो बस्ती रहेका मुलुकका मुख्य सहरमा धुमधामका साथ गाइजात्रा मनाइदै छ।
पर्वका पूर्वसन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगर परिक्रमा गरेसँगै यहाँ साँपारु पर्व सुरु हुने परम्परा छ ।
यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण पर्वलाई औपचारिकतामा सीमित गर्ने भक्तपुर नगरपालिका र सरोकारवाला निकायले जनाएका छन् । यसैका कारण आइतबार साँझ गाईजात्रा घिन्ताङघिसी नाच नगर परिक्रमा नगरिएको गुठी संस्थान भक्तपुरले जनाएको छ ।
भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिकशैलीको रुपमा लिइन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । यससँगै दिवङ्गतको आत्माको शान्तिको कामना गर्दै निकाल्ने तहामचा जिल्लामा मनाइने गाईजात्राको अर्को आकर्षण हो । यसैले यहाँ गाईजात्रा हेर्न तथा अवलोकन गर्न उपत्यकाका तीन जिल्लाका साथै आसपासका हजारौँ मानिस आउने गर्दछ ।
दिवङ्गत भएका आफन्तको आत्मा शान्तिको कामना गर्दै दाङका नेवार समुदायले घोराहीमा निकालेको गाईजात्रा । तस्बिर : रञ्जिता अधिकारी
गाई जात्रा (सापारू) को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित नगर परिक्रमा गराइँदै । नेवारी समुदायले आजको दिनलाई सापारू पर्वको रूपमा मनाउने गरिन्छ । तस्वीर : रत्न श्रेष्ठ
गाई जात्रा (सापारू) को दिन सोमबार मध्यपुर थिमिमा मृतकहरूको सम्झनामा गाईलाई नगर परिक्रममा गरिँदै । तस्वीर : रत्न श्रेष्ठ/रासस
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend