
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको छ। बुधबार निर्वाचन आयोगले औपचारिक रुपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को नाममा महन्थ ठाकुर समूहलाई प्रमाणपत्र दिएपछि औपचारिक विभाजन भएको हो ।
दल विभाजन सम्बन्धि अध्यादेश आएसँगै जसपा औपचारिक रुपमा विभाजन भएको हो। लामो समयदेखि मधेस र मधेसी जनताको अधिकारका लागि लड्ने भन्दै बनेका मधेसवादी दलमा जुँगाको लडाइँ नयाँ होइन।
दल विभाजन अध्यादेश र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा यत्तिबेला नेपालमा चर्को बहस चलेको छ। महन्थ ठाकुर समूहका नेता डा. सुरेन्द्र झा विचार नमिलेपछि दल विभाजन हुनुलाई सामान्य मान्छन्। जसपा विभाजनमा उपेन्द्र यादवको तुसलाई उनी दोष लगाउँछन्।
‘उपेन्द्रजीलाई अपमाननित ढंगले केपी ओली सरकारबाट निकालिएको थियो त्यसको तुस उहाँको मनमा रहेछ अन्तिममा जसपा विभाजनको कारण त्यही बन्यो’, झा भन्छन्।
राजनीति विकृत हुँदा राम्रा मान्छे नेतृत्वमा नपुगेको उनको तर्क छ। ‘जसले धेरै पैसा तिर्यो उसले टिकट पाउने, गाडी चढाउने र मासुभात खुवाउनेलाई मात्र जनप्रतिनिधि बनाउने शैलीसमेत गलत छ’, उनले भने।
डा. झा जसपा उपेन्द्र यादवले नबनाएर पूर्व राजपाका नेताहरुले बनाएको दाबी गर्छन्। ‘जनता समाजवादी पार्टी, नेपाल उपेन्द्रजीले मात्र बनाउनु भएको होइन’, उनी भन्छन्, ‘जसपा बनाउने पूर्व राजपाका नेता हुनुहुन्छ।’
१० वर्षसम्म जनयुद्ध सँगसँगै लडेका नेता चार टुक्रा भएको अवस्थामा जसपामा विचार नमिल्ने नेता पाखा लाग्नु सामान्य भएको उनको भनाइ छ।
‘१० वर्ष जनयुद्ध गरेका प्रचण्डको पार्टी आज चार टुक्रा भएको छ’, झा भन्छन्, ‘जसपा वैचारिक रुपमा फरकफरक नेता सहभागी भएकाले फुट्नु सामान्य हो।’
पार्टीभित्रका निर्दोष व्यक्ति जेलमा रहेको र दोषी मन्त्री बनेको आरोपसमेत उनले लगाएका छन्। ‘निर्दोष मान्छे जेलमा हुने र दोषी मान्छे मन्त्री भएर बसेका छन्’, झा भन्छन्, ‘यो भन्दा गलत शैली के हुन्छ ?’
नेता झाले सरकार गठन भएको एक महिना १० दिन हुँदासम्म मन्त्रिपरिषद् गठन हुन नसकेको भन्दै आपत्ति जनाएका छन्। सुनौलो नेपालका लागि डा. सुरेन्द्र झासँग दिनेश लुइटेलले गरेको कुराकानी
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend