एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुई फरक शक्तिशाली विष्फोटमा परी १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ ।
उक्त विष्फोटमा परी एक सय ४० भन्दा बढी घाइते भएको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
बिहीवार साँझ विमानस्थलको एउटा प्रवेशद्वारमा पहिलो आक्रमण गरिएको थियो, जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए। केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भएको हो । विष्फोटको जिम्मेवारी जिहादी समूहले लिएको छ।
अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस(के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको थियो ।
१५ अगस्टमा काबुलमा तालिबान समूहले कब्जा जमाएपछि त्यहाँबाट बाहिरिनका लागि अझै पनि हजारौँ मानिसहरु विमानस्थलमा रोकिएका थिए ।