काठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेशले यतिबेला नेपाली राजनीति तरंगित छ । स्थिर राजनीति चाहेका जनताले माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धनलाई भारी मत दिएर सरकारमा पठाएका थिए । तर गठबन्धनको सरकार शक्ति र सत्ताको लुछाचुँडीमा लाग्यो । जसको परिणाम नागरिकमा राजनीतिप्रति फेरि वितृष्णाको भाव पैदा भएको छ । झण्डै दुई तिहाईको सरकार विस्तापित, पार्टी विभाजन, अध्यादेश र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीसँग सुनौलो नेपाल संवाददाता सीता न्यौपाने ‘सारा’ ले गरेको कुराकानीको अंश :
नेकपाको पछिल्लो विवादलाई कसरी हेर्नुभएको छ ? पार्टी त फुट्यो त ?
कम्युनिष्ट आन्दोलनमा यो नयाँ कुरा होइन । हिजो एक जनाले सामाजिक सञ्जालमा लेखेका थिए, कम्युनिष्ट आन्देलन भएको ७२ वर्ष भयो तर फुट ७३ पटक भयो भनेर । कम्युनिष्ट आन्दोलन भित्र विभाजन र टुटफुट कुनै नयाँ होइन । यो सनातन जस्तो हो । जसरी हिन्दु धर्ममा आमा–बाबुको श्राद्ध गरिन्छ त्यो एउटा नियमित प्रक्रिया हो । आमा–बुवालाई नहेरे पनि हुन्छ तर श्राद्ध चाहि गर्नुपर्छ ।
टुटफुटमा कम्युनिस्टहरु रमाइरहेका हुन् ?
यी कम्युनिस्ट होइनन्, यी बौद्धिक अवसरवादी हुन् । यिनीहरुलाई कम्युनिस्ट भन्यो भने शब्दकै बदनाम हुन्छ । नाम कम्युनिस्ट राखेका छन् । अरबपतिको नाम गरिबदास जस्तै छ, र काम चलाउको नाम चाहिँ धनिराम भन्छन् । नाम धनिराम हुँदैमा धनी भइँदैन ।
यिनीहरु कम्युनिस्ट होइनन् भने को हुन् त ?
क्यारिरिष्ट हुन् । क्यारिरिस्ट भनेको पदको लागि कम्युनिष्ट पार्टीलाई ब्राण्ड बनाएका अवसरवादी तत्व हुन् । यत्रो दुई तिहाईको सरकारसँग कत्रो आशा थियो जनताको । तर थोरै पनि लज्जाबोध नगरी तहस–नहस पारे । कम्युनिजमलाई ट्रेडमार्कको रुपमा उभ्याएर आफ्नो खेती गरिरहेका छन् ।
दोस्रो धार तथा तेस्रो धारका पुस्ता लोकतन्त्र, संविधानको रक्षामा हामी लागि परेका छौँ भनिरहेका छन् तर कता पद पाइन्छ भनेर दौडधुप गरेको देखिन्छ । दोस्रो पुस्ताको भूमिका कमजोर देखिएको हो ?
पहिलो र दोस्रो पुस्ता भनेको को हो भन्ने निर्क्यौल छैन । पहिलो पुस्ता पुष्पलाल, मनमोहेनको पुस्ता, दोस्रो पुस्ता केशरजङ्ग रायमाझी, तुलसीलाल अमात्य तेस्रो पुस्ता मोहनचन्द्र अधिकारी, सीपी मैनाली, माधवकुमार नेपाल पनि यहीँ हाल्दिम् । चौथो पुस्ता युवाराज ज्ञवाली, मोहन विक्रम किरणको पुस्ता, त्यसपछि प्रचण्डको पुस्ता बाबुरामको त पुस्ता आउदैन भने केको रामकुमारीको पुस्ता आउछ यहाँ । अब तपाईँले भनेका यी पुस्ताहरुको भूमिका र मोहन वैद्य किरणलाई लडाउने बादलको भूमिका एकै हो । माओवादीबाट वैद्यलाई फुटाए । अहिले माधवलाई फुटाउनमा भीम रावल अग्रसर देखिए । यो तपाईँले भनेझैँ दोस्रो पुस्ताले माधव नेपाललाई उकासे र अन्तिममा आफूहरु फर्किए । बादलले पनि त्यही गरे प्रचण्डबाट वैद्यलाई फुटाएर अलग समुह निर्माण गरे । सायद विप्लवहरु पनि त्यहीँ थिए कि । अब तपाई विप्लवलाई कुन समुहमा राख्नुहुन्छ ? समस्या हुन्छ फेरि, उनी बेग्लै धार लिएर हिँडेका छन् ।
केही नेता केपी ओलीकै विरुद्धमा थिए, फेरि अहिले माधवको पक्षमा पनि गएनन् । यिनीहरुले गर्न खोजेको के हो ?
यिनीहरुलाई भन्दा पनि यिनीहरुका अगुवाको दोष देख्छु म । पार्टीभित्र वरीयता कायम गर्नुपर्छ । यसले योगेश भटराईहरु त जिल्ला कमिटीभन्दा माथि आउनै सक्दैनथे । भट्टराईको जिल्ला कमिटीको कुरा गर्दैछु भने रामकुमारी झाँक्रीको कुन अवस्था हुन्थ्यो । त्यो गर्नेवित्तिकै उनीहरुको भूमिका ठिक हुन्थ्यो । जहाँ अहिले घनश्याम, योगेशहरुले भुमिका खेलिरहेका छन् । त्यहाँ अमृत बोहराहरु हुने थिए । अमृतले यस्तो भुमिका खेल्ने थिएनन् । माधव नेपाललाई उचाल्नेहरु नै आज उनको साथमा छैनन् । किन साथ दिन सकेनन् ? जवाफ दिनुपर्यो नि । यिनीहरुले नै केपी ओलीबाट माधव नेपाललाई छुटाए । माधव नेपाल सही नेता हुन् । तर अहिलेको उनको कदम सही छैन ।
व्यक्तिगत रुपमा पार्टी विभाजन भएको देख्दा कस्तो लागिरहेको छ ?
अप्रिय, नरमाइलो लागेको छ । दल विभाजन घातक हो । यति धेरै संघर्षले बनेको पार्टी सकेसम्म विभाजन नहोस् भन्नेमा छु ।
एकता होस् भन्ने दुवै पक्षको चाहना नभएको हो ?
पार्टी भनेको पद्धति हो । त्यो पद्धतिलाई उपेक्षा गर्ने अधिकार पार्टीको सानो सदस्यलाई पनि हुँदैन र ठूलोलाई पनि छैन । केपी ओली एउटा प्रक्रियाबाट त्यहाँ पुगेका छन् । उनी जनताबाट निर्वाचित भएर त्यहाँ पुगेका छन् । हस्तक्षेप विरुद्धको एजेण्डा उनैको हो र हाम्रो पनि हो । त्यही मुद्धा लिएर केपीले दुई तिहाईको विजय पाए ।
माओवादीसँग एकता गरेर आएको हो भने पनि एकता उनैले गरेका हुन् । स्थायीत्व नै गठबन्धनको मुख्य नारा थियो । संसदीय दलमा निर्विरोधका नेता भए, नवौँ महाधिवेशनमा माधव नेपाललाई हराएरै अध्यक्ष भए । अब यही प्रक्रियाबाट मात्रै केपी ओलीलाई हटाउन सकिन्छ । तर केपी ओलीले पनि उदारभाव देखाएर एउटा मागेको पद पनि दिन सकेनन् । पार्टी प्रणालीमा कुनै नेताले ढिपी लिए भने त्यसलाई व्यवस्थापन गर्ने विधि भनेको अल्पमत र बहुमत नै हो । पार्टीको बैठकमा नआउने भएपछि कसरी निष्कर्ष निस्कन्छ त ।
पार्टी विभाजनकै अवस्था आइसकेपछि त कुनै एक पक्षले लचकता देखाउनुपर्ने होइन र ?
लचकता हुनुपर्ने हो । तर नगरे कस्को के लाग्छ । अघि पनि मैले भनिसकेँ केपी ओलीले दुई पदमध्ये एक छोडिदिएको भए हुन्थ्यो, तर छोड्नु भएन । नेताको रुपमा फुटको जिम्मेवारी ओलीले लिनुपर्छ किनभने उहाँको पालामा भयो तर जवाफदेहीताको दृष्टिकोण अन्यले पनि लिनुपर्छ । यो स्थिति ओली एक्लैले ल्याएको त होइन ।
त्यसो भए माओवाटी केन्द्र र नेकपा एमाले गठबन्धनको सरकारबाट जनताले के पाए त ?
गठबन्धनको सरकारबाट जतनाले केही पाएन । प्रधानमन्त्रीको मुख्य चासो कसरी पद जोगाउने भन्ने रह्यो र दोस्रो बचेको समय कसरी कमाउने भन्ने भयो । आफन्त कसरी पोस्ने भन्नेमै उनले समय खर्च गर्नुभयो । तपाईँ पत्रकारले नै भन्नुस् के पाउनुभयो ? केही छैन होइन त, जनताले पाएको कुरा । जनता आकर्षित हुने कुनै कुरा छैन ।
एमाले फुटेपछि अब आउने चुनावमा यसको असर कस्तो रहला ?
यो नयाँ दल दर्ता गर्ने नष्ट हुन्छन् । यो अवसानको बाटो हो । महाभारतको यधु वंशीय लडाइँमा सबै समाप्त भएका थिए । यिनीहरु पनि समाप्त हुन्छन् । अर्को विकल्पको खोजी गर्नुपर्नेछ ।
नेकपाको यो लडाइँले कांग्रेसलाई फेरि सत्तामा ल्यायो र यो सरकारले पनि पहिलेको सरकारले जसरी नै अध्यादेश ल्याएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
केपी ओलीले अध्यादेश ल्याउँदा यिनीहरुले प्रतिगमन भने । तर यो प्रतिगमन नभएर जसले अध्यादेश ल्याए पनि यो स्वेच्छाचारी हो । अध्यादेश ल्याउनको लागि पार्टी सिस्टमको अनुमति विना ल्याउन पाइँदैन । उहाँहरुको झगडाले पार्टी विभाज हुन्छ भने यो जनादेशको विपरीत हो । जनताको, पार्टीको विपरीत गर्ने हो भनेदेखि फेरि जनतामा कसरी जाने ? अध्यादेश सही हो कि, गलत हो अब दण्ड जनताले नै दिनेछन् ।
अहिले केही समयको लागि सरकारमा कांग्रेस आएको छ, यो कार्यकालले अब आउने चुनावमा कांग्रेसलाई असर गर्छ ?
भारी असर गर्छ, सरकारमा नगएको भए अब आउने चुनावमा कांग्रेस दुई तिहाईले विजय भएर आउथ्यो । वामपन्थीलाई दण्डित गर्न पनि कांग्रेसलाई जिताउने थिए । कांग्रसले राष्ट्रिय सरकार बनाए राम्रो हुन्छ । केपी ओलीले गरेका गल्ती नदोहोर्याए हुन्छ । तर सम्भव छैन । किनभने यिनीहरु बदलाव भावले प्रधानमन्त्री भएका हुन् । आफ्ना मान्छे पोस्न आएका हुन् । फेरि आउने चुनावमा कपी ओलीले नै सहानुभूति पाउने सम्भावना छ ।
हेर्नुहाेस् भिडियाे :