काठमाडौं । बलिउड चलचित्रमा ‘भिलेन’को रोलमा धेरै रुचाइएका अभिनेता सोनु सुद वास्तविक जीवनमा ‘हिरो’को भुमिकामा देखिँदै आएका छन् ।
कोारोना महामारी होस् या भोकमरी । अथवा आर्थिक अभावमा उपचार नपाएका जो कोही होस् सोनु सुद त्यही पुग्छन् । पछिल्लो समय कोरोनाको दोस्रो महामारीमा अक्सिजन सिलिण्डर देखि खाद्यान्न सहयोग जुटाउन उनी निकै व्यस्त देखिए । देशका मात्र नभई विदेशी नागरिकबाट आएको सहयोगको अपिलमा पनि उनी सक्रिय रहे ।
यिनै सोनु सुद के अब राजनीतिमा आउन लागेका हुन् ? भन्ने प्रश्न उठ्न थालेको छ । पछिल्लो समय दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालसँग एउटै मञ्चमा देखिएपछि झन् सोनु सुदको राजनीतिमा आउने चर्चा हुन थालेको हो ।
दिल्ली सरकारले सेप्टेम्बरदेखि सञ्चालनमा ल्याउन लागेको ‘देश के मेन्टर’ कार्यक्रमका सोनु सुद ब्राण्ड एम्बेसडर रहने भएका छन् । विद्यार्थीहरुलाई भविष्यको बारेमा मार्गदर्शन गर्ने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
सोही कार्यक्रममका लागि गरिएको पत्रकार सम्मेलनमा सोनु सुदले बालबालिकाको भविष्यको मुद्दा राजनीति भन्दा पनि महत्वपूर्ण भएको तर राजनीतिमा भने कुनै रुची नभएको बताएका थिए ।
यस अघि पनि राजनीतिमा आउनु पर्छ भन्ने मागलाई सोनु सुदले अस्वीकार गरेका थिए । सामाजिक कार्यमा नै आफू खुशी हुनसक्ने र यही आफ्नो लागि उपयुक्त ठाउँ भएको सोनुले बताउँदै आएका छन् ।