काठमाडौं । बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि एमाले सरकार संकटमा परेको छ । १२ सांसद नयाँ पार्टीमा खुलेपछि भर्खर मात्र मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।
एक सय ९ सदस्यीय बागमती प्रदेश सभामा यसअघि एमालेका सभामुखसहित ५६ सांसद थिए । सोही आधारमा भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए । एमालेले यसअघिका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्री बनाएको थियो ।
मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर १२ जना सांसदले आफूहरु नेकपा एकीकृत समजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् । नयाँ पार्टीमा खुलेमा सांसदहरुमा राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनाल रहेका छन् ।
नयाँ पार्टी निर्माणसँगै पाँच दलिय गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी दलले बागमतीमा गठबन्धनकै सहयोगमा राजेन्द्र पाण्डेलाई मुख्य मन्त्री बनाउने तयारी गरेको छ । यदि मुख्यमन्त्री शाक्यले माधबकुमार नेपालको नयाँ पार्टीलाई सर्मथन गरेमा उनको पद जोगिने सम्भावना पनि छ ।