logo

२०८१ पुष १४ आइतबार

logo
  • आइतबार, १४ पुष २०८१
  • अन्जनको गोलमा भारतसँग नेपालको बराबरी : अल्मुतारीले मागे समर्थकसँग माफी 

    अन्जनको गोलमा भारतसँग नेपालको बराबरी : अल्मुतारीले मागे समर्थकसँग माफी 

    2K
    Shares

    काठमाडौं । भारतसँगको मैत्रीपूर्ण खेलमा नेपाल बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो । 

    सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिन बाध्य भयो । करिव चार हजार घरेलु दर्शकको साथ पाएको नेपालले बलियो भारतविद्ध शानदार प्रदर्शन गरेको थियो । ३६औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै नेपालको उत्साह जगाएका थिए । 

    भारतीय गोलरक्षक गुरप्रित सिंह सान्दु र रक्षक चिङगेलसना सिंह कोनसामको आपसी तालमेल नमिल्दा अन्जन गोल गर्न सफल भए । सिंहको ब्याक हिल पारलाई नियाल्न विलम्ब गरेका भारतीय गोलरक्षक सिंहलाई विट गर्दै अन्जनले खाली पोस्टमा गोल गरेका थिए । नेपालको लागि अञ्जनको यो व्यक्तिगत पाँचौं गोल हो ।

    पहिलो हाफमा औसत प्रदर्शन गरेको भारत दोस्रो हाफमा खेलमा फर्किएको थियो । ६०औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । भारतका कप्तान सुनिल क्षेत्रीले डिबक्स छेउबाट हानेको शसक्त प्रहार नेपालका गोलरक्षक किरण चेम्जोङले पन्च गरी फर्काएको बल गोल लाइनमा ड्रप भएपछि थापाले गोललाइनबाटै जाली चुमाएका थिए । उक्त बललाई किरणको बचाउने प्रयास सफल भएन ।

    nepal-vs-india.jpg

    बल पोसेसन, पास र आक्रमणमा अब्बल प्रदर्शन रहेको नेपालले दोस्रो हाफका पनि दुई वटा राम्रा अवसर गुमाएको थियो । पहिलो हाफमा अन्जनले डिबक्स छेउमा पाएको फ्रिकिक प्रहार पोस्ट माथि हुईकिएको थियो । 

    यता पहिलो हाफमा गोलका लागि कुनै अवसर बनाउन नसकेको भारतले दोस्रो हाफमा उत्कृष्ट लय समायो । दोस्रो हाफको सुरुमै चारजना खेलाडी परिवर्तन गरेर उत्रिएको भारतले गोलसँगै उत्कृष्ट खेल खेल्यो । 

    यद्यपी कप्तान सुनिल क्षेत्री नेपाली रक्षकको घेराउमा परिरहे । अन्तिमसम्म रोचक मोडमा चलेको खेलमा दुवै टोलीले निर्णायक गोलको मौका बनाउन नसक्दा खेल बराबरीमा सकियो । भारतका रहिम अली ‘म्यान अफ दी म्याच’ भए । नेपालका तेज तामाङ उत्कृष्ट खेलाडी घोषित भए । 

    अल्मुतारीले मागे समर्थकसँग माफी 

    खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जित्न नसकेको भन्दै नेपाली सर्मथकसँग माफी मागेका छन् । ‘ म नेपाली जनतासँग क्षमा चाहन्छु । सायद हामीले खुशी बनाउन सकेनौं । हामीले ठिकै खेलेका छौं । खेलाडीले आफ्नो भूमिका निभाए । तर यति खेलेर साफ जितिन्न । भारत बलियो टोली हो । अर्को खेलमा हामीले यो भन्दा राम्रो खेल्नु पर्छ । मैत्री खेलको नतिजा ठिकै हो । साफका लागि ठूलो मिहेनत गर्न आवश्यक छ । हाम्रो लक्ष्य साफ जित्नुनै हो,’ अल्मुताइरीले भने । 

    भारतका क्रोएसियाली प्रशिक्षक इगोर स्टिमाचले प्रतिस्पर्धात्मक खेल भएको बताए । पहिलो हाफमा हामीले खासै खेल्न सकेनौं । ‘पिचका कारणले पहिलो हाफ सोचेजस्तो भए । दोस्रो हाफमा प्राविधिक हिसावले राम्रो खेल खेल्यौं । गोलका लागि अवर पनि थियो । नेपालसँग खेल्न सजिलो थिएन । दोस्रो हाफमा चार जना खेलाडी परिवर्तन गरेर खेल्दा खेल्दा राम्रो भयो । नेपालले धेरै तयारी गरेकोले पनि गाह्रो भयो । अर्को खेलमा राम्रो गर्ने प्रयास गर्नेछौं,’ इगोरले भने ।

    Anfa 2 nep ind.jpg

    किरणको कीर्तिमान बराबरी र नितिनको डेब्यु 

    नेपालका कप्तान किरण चेम्जोङले अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ७३ क्यापको कीर्तिमान बराबरी गरेका छन् । उनले यसअघिका कप्तान विराज मर्हजनसँग बराबरी गरेका हुन् ।

    किरणले भारतसँगकै अर्को मैत्रीपूर्ण खेलमा ७४ क्यापको नयाँ कीर्तिमान रच्नेछन् । यसैगरी भारतसँगको मैत्रीपूर्ण खेलबाट नेपालका लागि मिडफिल्डर नितिन थापाले डेब्यु गरेका छन् । नितिन ८५औं मिनेटमा तेज तामाङको स्थानमा मैदान छिरेका थिए ।

    नेपालले माल्दिभ्समा आयोजना हुने १३औं साफ च्याम्पियनसिपको तयारीका लागि भारतसँगै मैत्रीपूर्ण खेल खेलेको हो । अब भारतसँगको दोस्रो खेल आइतबार हुनेछ । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुनेछ ।

    Anfa football.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend