काठमाडौँ । नेपाली आकाशमा अनधिकृत रुपमा भारतले उडान भरेको विरोधमा सत्तारुढ गठबन्धनकै विद्यार्थी संगठनले विरोध जनाएको छ । शुक्रबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गर्दै विरोध जनाएको हो ।
नेकपा एकीकृत निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा रत्नराज्यलक्ष्मी क्याम्पस अगाडि पुत्ला दहन भएको हो । भारतीय हेलिकप्टर बिना अनुमति दार्चुला प्रवेश गरेको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
महाकाली नदी तर्नेक्रममा भारतीय सुरक्षाकर्मीले तुइट काट्दा बेपत्ता जयसिंह धामीले न्याय पाउनुपर्ने मागसमेत विद्यार्थीले गरेका छन् । प्रदर्शनका क्रममा विद्यार्थीले भारतीय विस्तारवाद मुर्दावाद, भारतीय हस्तक्षेप बन्द गरलगायत नारा लगाएका छन् ।
मोदीको पुत्ला जलाउनेक्रममा अध्यक्ष पराजुलीको हातसमेत जलेको छ । एस निकट विद्यार्थी संगठनले एमसीसीको विरोधमासमेत प्रदर्शन गर्ने बताएको छ ।