काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सल्लाहकार नियुक्तिमा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाको ब्यापारिक साझेदारले नियुक्ति पाएका छन् ।
मुलुकको आर्थिक विकास तथा सरकारका नीति तथा कार्यक्रमहरू तय गर्ने मुख्य निकाय योजना आयोगको नियुक्तिमा प्रधानमन्त्री पत्नी राणा हावी भएकी हुन् । आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल र आयोगको वरिष्ठ सल्लाहकारमा अरनिको पाण्डे नियुक्त भएका छन् ।
पौडेल र पाण्डे देउवा पत्नी आरजु राणा देउवाको ब्यापारिक साझेदार हुन् । राणा अध्यक्ष रहेको युलेन्स स्कुल नेपालकै सबैभन्दा महँगो शुल्क लिने शिक्षण संस्था मध्येमा पर्दछ । योजना आयोगको उपाध्यक्षमा नियुक्त पौडेल युलेन्स स्कुलका बोर्ड सदस्य हुन् ।
सल्लाहकार पाण्डे युलेन्स एजुकेशन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन् । आयोगमा यसअघि वरिष्ठ सल्लाहकार राख्ने प्रचलन नरहे पनि यसपटकबाट आरजु राणाकै जोड बलमा सल्लाहकार पद सिर्जना गरिएको हो ।