logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • ‘राम्रो काम गर्नुहोस्, आमाबुवाको लागि त्यो भन्दा अर्को ठूलो खुशी हुँदैन’

    ‘राम्रो काम गर्नुहोस्, आमाबुवाको लागि त्यो भन्दा अर्को ठूलो खुशी हुँदैन’

    7.7K
    Shares

    आज बुवाको मुख हेर्ने दिन अर्थात् कुसे औँसी । यसै अवसरमा हामीले एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम अर्थात् चट्याङ मास्टरसँग कुराकानी गरेका छौँ । उनी यो पर्व ‘बा’को नभएर सम्पूर्ण छोराछोरीको भएको बताउछन् । बुवाआमाको लागि घर, गाडी र सम्पत्ति होइन मान्छे अर्थात् सन्तान ठूलो कुरा भएको उनको भनाइ छ । गौतमले जसरी बाआमाप्रति श्रद्धाभाव देखिन्छ जस्तो लाग्छ देखाउन अनुरोध गरेका छन् । एक दिनको प्रभाव सधैभर पर्ने भएकाले यो दिनको महत्त्व रहेको उनको भनाइ छ । सुनौलो नेपालका लागि गौतमसँग दिनेश लुइटेलले गरेको कुराकानीको सम्पादित अंश : 

    तपाईंलाई बुवाको मुख हेर्ने दिनको शुभकामना 

    शुभ जीवन नै उहाँको हो  । शुभ दिन उहाँको हो । धन्यवाद । 

    बुवाको मुख हेर्ने दिनको सांस्कृतिक महत्व के छ ? 

    त्यो पाटो धेरै पण्डितले व्याख्या गर्दै आएका छन् । मैले देखेको चाहिँ जीवनको महत्त्व हो । त्यो तपाईँको लागि कति महत्त्वपूर्ण छ । तपाईंको सन्तानको लागि कति महत्वपूर्ण छ भन्ने दृष्टिकोण राखेर हेर्नुभयो भने यो पूर्खाले दिएर गएको पर्व हो । मेरा छोराछोरी र नातीनातिना खुशी रहुन भनेर हाम्रो बाआमाले हामीलाई दिएको सम्पत्ति हो । यो पर्व बाको लागि होइन । कतिपय बा बितिसक्नु भयो । बा यसै बुढो भइसक्नुभयो । सायद कति वर्षपछि, महिनापछि वा कतिदिनपछि बित्नु पनि हुन्छ होला  ! 

    हामीले बुबाको मुख हेर्ने दिन म बुवाको मुख हेर्न जाँदैछु । बुढा सिराउलान भन्ने हो भनेदेखि नहेर्नुहोस् बुवाको मुख । यस्तो सन्तानले मुख हेर्नुको अर्थ नै छैन । तर, तपाईंले यो संस्कारलाई राखिराखे भोलि तपाईंको मुख तपाईँका छोराछोरीले हेर्छन् । म पनि बुढो हुन्छु । मेरी छोरी मेरो मुख हेर्न आउँछिन् । समाजलाई एउटा शुत्रमा बाध्ने धागो छ । त्यो चाहिँ निरन्तर चलिरहन्छ। त्यसैले यो बाबु आमाको लागि होइन मेरो सन्तान र मेरो बुढ्यौलीका लागि हो भनेर हेर्नुभयो भने महत्त्व यहाँभन्दा बढी भन्नु पर्दैन ।

    यो पर्व ‘बा’को होइन । तपाईंको लागि हो । बा यसै बुढो भइसक्नुभयो । कतिपय बा बितिसक्नुभयो । तपाईंको बा पनि कतिदिन, कति महिना वा कति वर्षपछि बित्नु पनि हुन्छ होला ! 

    कुरा गर्दागर्दै तपाईँको आँखाबाट आँसु झरेको छ । किन यत्ति धेरै भावनात्मक बनाउँछ यो सम्बन्धनले ? 

    म नभए पनि पृथ्वी चलेकै थियो । मेरो मृत्यु पश्चात पनि पृथ्वी चलिरहन्छ । तर, छोटो जिन्दगीमा हासेँ, खेलेँ, रोएँ, उफ्रिएँ, कमाएँ, जितेँ, हारेँ जे जे पाएँ मैले त्यो सबै आमा बुवाकै कारणले हो । जुनसुकै सन्तानले आफ्नो अनुहार यसो ऐनामा हेर्नुहोस् । अनुहार आमासँग मिल्छ कि, बाबुसँग मिल्छ भनेर हेर्नुभयो भने कताकता आमाको नजिक नजिक अथवा बुवाको नजिकनजिक गएको देख्नुहुन्छ । त्यो आमाबाको शरीरको केही अंश हो तपाईं । म छोरो होइन, त्यसकै अंग हो । भावनासँग जोडिनु वा जोडिन पाउनु अहोभाग्य हो । शरीरसँग जोडिएको छु । मेरो रुपसँग जोडिएको छु, मेरो बानी व्यवहारसँग जोडिएको छु । कस्तो ठ्याक्कै बाबुको बानी आएछ यसलाई त ह ! ओहो कस्तो आमाजस्तै रैछ यो त भनेर भन्छन्। 

    बाआमा कहिल्यै मर्दैनन् । म हुँदासम्म मेरो बा आमा मर्नुहुन्न । पहिला बाबुको भूमिका खेल्ने र आमाको भूमिका खेल्ने भिन्न शरीर थियो । अब अहिले मैले नै बाबुको भूमिका पनि खेल्नुपर्छ । आमाको भूमिका पनि खेल्नुपर्छ । म अब बढी जिम्मेवार हुनुपर्छ । 

    वर्षमा एक दिन मीठो खान दिएर बुवाप्रतिको कर्तव्य पूरा हुन्छ ? 

    नेपालले प्रजातन्त्र दिवस मनाउछ । त्यो दिन प्रजातन्त्र दिवस हुने र बाँकी दिन प्रजातन्त्र नहुने हो र ? त्यो होइन नि । भावना जागृत गर्ने एउटा विशेष दिनको रुपमा, विशेष पर्वको रुपमा बुवालाई सम्मान गरिन्छ । यो जीवन, रगत र अस्तित्वको सम्बन्ध भएको कुरा हो । जसरी राष्ट्रसँग मेरो आत्मियता छ त्यो भन्दा पनि घनिष्ठ सम्बन्ध आमाबुवासँग हुन्छ । मनुष्य भावनाहरुको पिण्ड हो । एक दिनको चार्ड मनाउँदा तपाईंले भावना बढाउन सक्नुहुन्छ । त्यसलाई मजबुत बनाउने हो ।

    समाजले चाहिँ बुवाआमालाई सम्मान गर्न हामीलाई के सिकायो ? 

    समाजले जहिले पनि सिकाउछ । बाआमाले सिकाउनुहुन्छ । तर, कुन कुरालाई कति महत्त्व दिएर भावनात्मक रुपमा कति जोड्छ भनेर अनुभूत गर्न लगाउँछ । समाजले पैसा कमाउन सिकायो । समाजमा देखिएको यो एउटा विकृति हो । पैशामुखी व्यक्ति भए । मान्छे पैसा कमाउन, काठमाडौंमा अग्लो घर बनाउन जन्मिएजस्तो गर्छ । मानव जीवनको सुन्दर रुपलाई पैसामा लगेर खाँदेको कुरा बढी सिकाएको देखिन्छ । यो गलत हो । समाजप्रतिको दायित्व सिकाइएन । भौतिक समृद्धि आवश्यक छ तर मानव जीवनका लागि भौतिक समृद्धि मात्र सबै कुरा होइन । यस्तो अवस्थामा चाडपर्वले हाम्रो सम्बन्धलाई दह्रो बनाउँछ । 

    सन्तानलाई बाबुआमाप्रति गर्नुपर्ने दायित्व किन सिकाउनुपर्छ ? 

    मान्छे भन्ने जातलाई सिक्नुपर्छ । तर, हामी बाआमालाई गुरु मान्दैनौँ । पहिलो गुरु आमाबुवा हुनुहुन्छ । त्यसपछि पाँच छ थरी गुरु हुन्छन् । यी सबैले तपाईंको संरक्षण गर्न चाहन्छन् । जसले मद्दत गर्छ उसलाई नमस्कार गर्नु भनेको मात्र हो । लड्डु लिएर जानु भनेको छैन । 

    अहिले सबै व्यस्त छु भन्छन् । बुबाआमालाई कसरी समय दिने ? 

    मानवीय गुणबाट प्रतिष्ठाको खोजी गर्नुपर्छ । सामाजिक मूल्य र मान्यतालाई हामीले बिर्सनु हुँदैन । सबै हतारमा छन् । दौडधुप गरिराखेका छन् । एउटा अपूर्ण जीवन र मानवीय गुणको क्षति हुँदै गएको देखिन्छ । मानव हुनुको सुन्दरता नबुझेको जस्तो देखिन्छ । आफूतिर ध्यान नदिँदा यो परिणाम आएको हो । बुवाको मुख हेर्ने दिनको असर, त्यसले तपाईंमा पार्ने प्रभाव । त्यसलाई सही ढंगले मनाउँदा तपाईंमा उत्पन्न हुने भावना, ती भावनाले तपाईंमा आउने आनन्द र त्यो भावनाले असर पार्ने तपाईंका सन्तानसँगै समाज खुशी र सुरक्षित हुने उपाय नै बुवाको मुख हेर्ने दिनको महत्त्व हो । बुवाआमालाई सम्मान नगर्नु दुःखको मार्ग हो । 

    कतिपयलाई बाबुको मुह हेर्ने दिन पनि क्या झन्झट । बिदा छैन । दुई चारवटा मिटिङ आजै थियो । कहाँ बाबुको मुख हेर्न जाने ? नगए बुढा रिसाउँछन् । बेलुका वा भोलि गएर फकाउला भन्ने किसिमको व्यवहार सामान्य हुन थाल्यो भने हाम्रो सिंगो समाज पतनतिर गएको छ । हामी सबै दुःखको मार्गमा हिड्दै छौँ । अन्धकार भविष्य बनाउन खोज्दै छौँ । 

    हामीमा क्रोध, रिस, रागका भावना बढी हुने माया, प्रेम, स्नेहको भावना कम हुने देखिन्छ । मानिससँग भएका केही गुणकै कारण उसलाई चेतनशील प्राणाी भनिएको हो । तपाईंले बिहान बेलुका पूजापाठ गर्नु देवी देवताको कल्याणहोस् भनेर होइन । त्यो गर्नुभयो भने तपाईंलाई एक किसिमको खुशी मिल्छ । त्यो स्वाद हामीले बिर्सनु हुँदैन । आफ्नो मुहानको संरक्षण हामीले गर्नुपर्छ । किनभने अलिकति तल गएपछि हामी पनि मुहान हौँ । 

    पूर्वीय सभ्यताको बलियो पक्षले मान्छे बाहिर राम्रो देखिँएर हुँदैन । त्यसका भावना राम्रो हुनुपर्छ, सोचाई राम्रो हुनुपर्छ भन्छ । हामीले त्यसलाई अनुशरण गर्नुपर्छ । 

    बुढाबुढी अर्थात् बाबुआमाको खुशी के हो ? 

    तपाईंलाई मोटर किन्दा खुशी लाग्छ । तर, बाबुआमा असल छोरो, सक्षम छोरो र गुणवान छोरो भयो भने सबैभन्दा ठूलो आर्जन ठान्नुहुन्छ । गाडी होइन । सम्पत्ति होइन । मान्छे चाहिँ महत्वपूर्ण हो । छोरा वा छोरी चाहिँ महत्वपूर्ण हो । छोराछोरीको क्षयमा आमाबुबालाई दुख्छ । त्यो सम्बन्धलाई बलियो बनाउन यस्ता पर्व आवश्यक पर्छ । आफूभन्दा ठूलाबाट आशिर्वाद लिने पर्वको आवश्यक छ । अन्तिममा विजयी हुने पूर्वीय सभ्यताले राम्रो विधि बनाएको छ । त्यसलाई स्वीकार गर्नुहोस् त्यसमा बुवाआमा खुशी हुनुहुन्छ । आत्मियता बढाउँदै जानु यस्ता चाडपर्वको महत्व छ । 

    अहिले हामी सामाजिक सञ्जालमा देख्छौँ । बुबाको मुख हेर्ने दिनमा बुवालाई भेट्ने, आमाको मुख हेर्ने दिनमा आमालाई भेट्ने । अनि किस्तीमा फलफूल राख्ने र बुवाआमाको महत्व यत्तिमा सीमित गरेर वर्षभर बिर्सने पो चलन आयो त ।

    होइन । जसले यत्ति गर्छ भने उसले वर्षभर पूरै बिर्सदैन । त्यत्ति पनि नगर्ने छन् । उनीहरुको सम्मानमा जेसुकै गर तर गर्न चाहिँ गर के । बाआमाप्रति श्रद्धाभाव जसरी देखिन्छ जस्तो लाग्छ देखाऊ । तिमी व्यक्त होऊ । एक दिनको प्रभाव वर्षभर पर्नसक्छ । एक दिन सही काम गर्नुभयो भने त्यसको प्रभाव आगामी दिनमा पर्छ । पाँच मिनेट गर्नुहोस् राम्रो काम गर्नुहोस् । दिनका दिन सम्भव हुँदैन । तर, दिनका दिन भावना जागृत गर्नुपर्छ । तपाईंको खुशीको स्रोत नि त्यही हो । त्यो नगरे तपाईंलाई खुशी मिल्दैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend