काठमाडौं। सरकारले आगामी असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने निर्णय गरेको छ। मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने निर्णय गरेको हो।
दसैं, तिहार र छठलाई लक्षित गर्दै सरकारले उपत्यकासहित मुलुकका विभिन्न सहरी क्षेत्रमा हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दैआएको छ। यो पसलमार्फत विभिन्न प्रकारका उपभोग्य वस्तुमा छुट दिएर बिक्री गर्ने व्यवस्था सरकारले मिलाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार विगतका वर्षमा सञ्चालन भएकोजस्तै यो वर्ष पनि अत्यावश्यक उपभोग्य वस्तुको एकै थलोबाट सुलभ रुपमा बिक्री वितरण गर्नका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने निर्णय भएको हो।
असोज १ गतेदेखि सञ्चालनमा आउने उक्त पसल आगामी छठ पर्व सकिएको एक सातासम्म पनि सञ्चालनमा आउनेछ। समितिले सुपथ मूल्य पसलको बारेमा आवश्यक कार्ययोजना १५ दिनभित्रमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीकाअनुसार सुपथ मूल्य पसल सञ्चालन गर्ने अवधि नजिकिदैं गए पनि मन्त्रालयस्तरबाट नीतिगत निर्णय गर्न बाँकी छ। मन्त्रालय मन्त्रीबिहिन हुँदा निर्णय गर्न समस्या भएको बताइएको छ।
यसैबीच सुपथ मूल्य पसल सञ्चालन गर्न सरोकारवाला निकायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक बजेट निकासा गरेको छ। मन्त्रालयकाअनुसार साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गरेर ३ करोड २५ लाख रुपैयाँ निकासा गरिएको हो। यो रकम ति दुवै निकायले छुटसहित बिक्री गर्ने दैनिक उपभोग्य बस्तुवापत उपलब्ध गराइएको हो।
सरकारले यस्ता सुपथ मूल्य पसलमार्फत विशेष छुटमा नुन, चिनी, चामल, ग्यास, खसी–बोकालगायतका विभिन्न वस्तु बिक्री गर्ने व्यवस्था मिलाएको छ। मन्त्रालयकी प्रवक्ता केसीले दुवै निकायलाई बजेट निकासा गरिएको पुष्टि गरिन्। मन्त्रालयले भने घटस्थापनादेखि सुपथ मूल्य पसल सञ्चालनमा आउने गृहकार्य भइरहेको जानकारी गराएको छ।
मन्त्रालयबाट यस्तो पसल सञ्चालन गर्न नीतिगत निर्णय गर्न ढिलाई भएपनि साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनका लागि आवश्यक गृहकार्यमा जुटिसकेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले संयुक्त रुपमा काठमाडौंको रामशाहपथ र ललितपुरको जाउलाखेलमा सुपथ मूल्य पसल सञ्चालनका लागि तयारी सुरु गरेका छन्।
यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले कालिमाटी, सतुंगल, कोटेश्वर, सूर्यविनायक र बनेपालगायतका स्थानमा छुट्टै यस्तो पसल सञ्चालन गर्ने जनाएको छ। यसबाहेक साल्टले मुलुकभरका आफ्ना बिक्री केन्द्रबाट पनि छुटमा विभिन्न वस्तु बिक्री गर्नेछ ।
यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथली, नख्खु, सूर्यविनायकलगायतका स्थानबाट छुट्टै यस्तो पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ। उता दुग्ध विकास संस्थान (डीडीसी) ले पनि लैनचौरस्थित केन्द्रीय कार्यालय, रामशाहपथ र अन्य बिक्री केन्द्रमार्फत विशेष छुटमा दुग्धजन्य पदार्थ बिक्री गर्ने तयारी गरेको हो।
कसले के बिक्री गर्ने ?
साल्ट ट्रेडिङ कर्पोरेशनले हरेक वर्ष यस्ता पसलमार्फत विशेष छुटमा नुन, चिनी, चामल, गेडागुडी, दाल, पिठो, ग्यास, खानेतेल र मसला बिक्री गर्दैआएको छ। यो वर्ष भने चिनीको लागि अर्थमन्त्रालयबाट आयातको सहमति प्राप्त नभएकाले चिनी खरिद र आयात प्रक्रिया अन्यौलमा परेको छ। साल्टले गत माघ महिनामै ५० हजार टन चिनी आयातका लागि भन्सार शुल्कमा छुट उपलब्ध गराइदिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो।
यसै गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विशेष छुटमा खसीबोका, च्याङग्रा, चामल, गेडागुडी, फापर र कोदोको पिठो, दाल, सिमी, जुम्लाको मार्सी चामललगायतको बिक्री गर्ने तयारी गरेको छ। डीडीसीले दुग्धजन्य पदार्थ विशेष छुटमा बिक्री गर्नेछ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणि खनालका अनुसार यो वर्ष खसीबोका र च्याङग्रा खरिद गर्न संस्थानले करिब ६ करोड रुपैयाँ बिनियोजन गरेको छ। संस्थानले यो वर्ष १ हजार ६ सयको संख्यामा खसीबोका र १ हजारको संख्यामा च्याङग्रा खरिद गर्ने योजना तयार गरेको छ।