काठमाडौं । कोभिड महामारीबाट थला परेको अति प्रभावित ऋणीका लागि नेपाल राष्ट्र बैंकले ठूलो राहत सुविधाको घोषणा गरेको छ । राष्ट्र बैंकले बिहीबार राहतसम्बन्धी निर्देशन जारी गर्दै यस्तो सुविधाको घोषणा गरेको हो ।
बैंककाअनुसार होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवालगायत बाह्य पर्यटकमा निर्भर रहने व्यवसायीको हकमा राहत घोषणा गरिएको हो ।
यस्ता क्षेत्रसँग सम्बन्धित उद्योगीले २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्व दुई वर्षसम्म भुत्तानी गर्दा हुन्छ । यसका लागि ऋण दिने बैंक तथा वित्तीय संस्थाले छुट्टै हिसाब राखेर कम्तिमा चार किस्तामा असुल गर्न सक्ने व्यवस्था गरिएको छ ।
नयाँ ब्यवस्थाले दुई वर्षसम्म साँवा र त्यसमा पाकेको ब्याज फ्रिज हुन्छ । अर्थात् अब ब्याजको स्याज लाग्दैन । यसले खासगरी होटल, मनाेरञ्जन गृह र हवाई व्यवसायीलाई ठूलो राहत दिने विश्वास गरिएको छ ।
यसअघि राष्ट्र बैकले पुनर्संरचना वा पुनर्तालिकीकरण गर्न दिएको थियो । यसमा पाकेको ऋणको ब्याज पनि साँवामा मिसाएर त्यसको पनि ब्याज लाग्थ्यो । तिर्ने समय छुट पाए पनि ब्याजको पनि स्याज तिर्नु पर्ने बाध्यता थियो ।