logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • आर्थिक अध्यादेश : के मा कति छुट ? के मा थपियाे कर ? 

    आर्थिक अध्यादेश : के मा कति छुट ? के मा थपियाे कर ? 

    2.7K
    Shares

    काठमाडौं । सरकारले कोभिडबाट प्रभावित कारोबारमा कर छुट प्रदान गर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार आर्थिक अध्यादेश सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

    जसअनुसार २० लाख रुपैयाँसम्मको कारोबार वा २ लाख रुपैयाँसम्म आय भएर आयकर ऐन २०५८ को दफा ४ को उपदफा ४ अनुसार कर लाग्ने करदातालाई आय वर्ष २०७७।७८ मा लाग्ने करमा ९० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

    यस्तै आयकर ऐनको दफा ४ को उपदफा ४ क अनुसार कारोबारको आधारमा कर बुझाउने २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई आय वर्ष २०७७।७८ मा लाग्ने करमा ७५ प्रतिशत छुट दिइएको छ ।

    १ करोड रुपैयाँसम्मको व्यवसायिक कारोबार भएका व्यक्तिलाई आय बर्ष २०७७।७८ मा आयकर ऐनअनुसार लाग्ने करमा ५० प्रतिशत छुट दिइएको छ । यस्तै होटल, ट्राभल, ट्रेकिङ, चलचित्र व्यवसाय(निर्माण, वितरण तथा प्रदर्शन), पार्टी प्यालेस, सञ्चार गृह(मिडिया हाउस), यातायात वा हवाई सेवाको १ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आय बर्ष २०७७।७८ मा करयोग्य आयमा १ प्रतिशत मात्रै कर लाग्नेछ ।

    स्वास्थ्य सामाग्रीमा कर छुट

    कोभिडबाट संक्रमित बिरामीको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने भन्सार उप–शिर्षक २८०.४०.१० मा पर्ने मेडिकल ग्रेड अक्सिजन(लिक्वीड एण्ड ग्यास्यिस अक्सिजन, हेल्मेट्स फर नन इनभेसिभ भेन्टिलेटर्स, लिक्विड अक्सिजन ट्यांक, अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन कन्टेनर, अक्सिजन क्यानिष्टर, आइएसओ कन्टेनर्स फर सिपिंग अक्सिजन र क्रोजेनिक रोड ट्रान्सपोर्ट ट्यांक फर अक्सिजनलगायतको पैठारी, उत्पादन र बिक्री बितरणमा लाग्ने भन्सार महसुल, अन्तशुल्क तथा मूल्य अभिवृद्धि कर २०७८ पुस मसान्तसम्म छुट हुने व्यवस्था गरेको छ । 

    स्वास्थ्य जोखिम कर
     
    विदेशबाट पैठारी हुने र स्वदेशमा उत्पादित बिडीमा प्रति खिल्ली ३० पैसा, चुरोट र सिगारमा प्रति खिल्ली ६० पैसा र तयारी खाने सुर्ति, खैनी, गुटखा, पान मसलामा प्रति किलोमा ६० रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाएको छ ।

    शिक्षा सेवा शुल्क

    विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा दिंदा त्यस्तो सटही रकममा २ प्रतिशत शिक्षा सेवा शुल्क लगाइएको छ ।

    भन्सार सेवा दस्तुर

    निकासी वा पैठारी हुने मालवस्तुको प्रति प्रज्ञापनपत्रमा निकासी वापत १ सय र पैठारी वापत ५ सय रुपैयाँ भन्सार सेवा दस्तुर लगाइएको छ ।

    तर निकासी महसुल लाग्ने मालवस्तु, कुटनीतिक तथा महसुल सुविधामा निकासी वा पैठारी हुने मालवस्तु तथा महसुल तिरी अस्थायी पैठारी हुने मालवस्तु, हवाईमार्गबाट यात्रुले आफुसँगै लग्ने मालबस्तु र ५ हजार रुपैयाँसम्म मूल्यको निकासी वा पैठारी हुने मालवस्तुमा भन्सार सेवा दस्तुर नलाग्ने व्यवस्था गरिएको छ ।

    कृषि सुधार शुल्क

    अनुसूची १ को दफा १६ मा उल्लेख भएका मालवस्तु पैठारी गर्दा पैठारी मूल्यमा सोही दफामा उल्लेखित दरले कृषि सुधार शुल्क लगाउने व्यवस्था गरिएको छ । तर त्यस्ता मालबस्तुको पैैठारी हुँदा भन्सार महसुल लाग्ने रहेछ भने त्यस्तो पैठारीमा कृषि सुधार शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

    पूर्वाधार विकास कर

    नेपालमा पैठारी हुने पेट्रोल र डिजेलमा प्रति लिटर १० रुपैयाँका दरले पूर्वाधार विकास कर भन्सार विन्दुमा उठाउने व्यवस्था गरिएको छ ।

    सडक मर्मत तथा सुधार दस्तुर

    सडक मर्मत तथा सुधार गर्न विदेशबाट नेपालमा पैठारी हुने पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेलमा प्रति लिटर २ रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर भन्सार विन्दुमा उठाउने व्यवस्था गरिएको छ ।

    प्रदूषण नियन्त्रण शुल्क

    नेपालभित्र बिक्री बितरण हुने पेट्रोल तथा डिजेलमा प्रति लिटर १ रुपैयाा ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क उठाउने व्यवस्था गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend