काठमाडौं । गएको भदौ २४ मा पुरानो बानेश्वरस्थित मातृका आई सेन्टरमा ‘होक्स बम’ राखेर अस्पतालसँग तीन करोड रुपैयाँ फिरौती माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी घर भएर हाल बालाजु फुटुङ बस्ने आशिष कुँबर, उनकै सहोदार भाइ अभिषेक कुँवर र रोल्पा खोलावाङका अम्बर बहादुर रोक्का छन्।
उनीहरुलाई महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। यो समूहले टाइम डिभाईस राखेर अस्पतालका चिकित्सकलाई फोन गरेर धम्की दिंदै तीन करोड रुपैयाँ मागेको प्रहरीले जनाएको छ।
परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार पक्राउ मध्येका आशिष विजुलीको काम गर्ने मजदुर हुन्। उनले युट्युब हेरेर उक्त बम बनाएको बयान प्रहरीलाई दिएका छन्। तर प्रहरीले यसबारे थप अनुसन्धान गर्ने भएको छ।
यो बम राख्न गएको बेलाको सीसीटीभी फुटेजमा समेत कैद भएको छ। सुरुमा सेन्टरको गार्डलाई फोन गरेर सटर बन्द गर्न धम्की दिएका थिए। सटर बन्द गराएपछि अस्पतालका चिकित्सकलाई फोन गरेर पैसाको बार्गेनिङ गर्न थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
‘आशिषले यसअघि मातृकामै आँखाको सल्यक्रिया गरेकाले अस्पताल र डाक्टरको बारेमा जानकार रहेको देखियो,‘एसएसपी सिंहले भने,‘ सहकारीमार्फत लिएको १७ लाख रुपैयाँ चुक्ता गर्न नसकेपछि उनी तनावमा थिए।’ प्रहरीका अनुसार पक्राउ तीनै जना बेल्यिजम जाने तयारी गरे पनि तत्काल व्यहोर्ने रकम नभएपछि अलपत्र थिए।
घटना भएको दिन आशिषले नै फोन गरेर ‘अस्पतालमा बम राखिएको छ । प्रहरीलाई खबर गरेमा मेरो हातमा रिर्मोट भएकाले अस्पताल उडाइदिन्छु र तपाईँकाे घरमा चार वटा बम राखिदिन्छु’ भनेर धम्की दिएका थिए। घर परिवार सुरक्षित राख्ने भए तीन करोड तयार गर्न भनेर समेत यो समुहले अस्पताललाई धम्क्याएको जानकारी एसएसपी सिंहले दिए।
बम भनिएपनि फेला परेको वस्तु टाइम डिभाईस जस्तै रहेको थियो। सेनाको टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो।