काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले आर्थिक सहयोगको विषयलाई राजनीतिक हतियार बनाउन नहुने बताएकी छन् ।
भ्रमणको अन्तिम दिन आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सुमारले एमसीसी सम्झौतालाई नेपालमा अनावश्यक राजनीतिकरण गरिएको पनि बताईन् । सुमारले असन्तुष्टि जनाउँदै भनिन्, ‘अहिले एमसीसीलाई गलत र भ्रामक प्रचार गर्ने काम भइरहेको छ । आर्थिक सहयोगको विषय कहिले पनि राजनीतिक हतियार हुन सक्दैन । यो मानिसको जीवनसँग सम्बन्धित विषय हो ।’
एमसीसी सम्झौता संसदबाट पारित हुन नसकेको धेरै भइसकेको छ । पछिल्लो समय एमसीसीको चर्को विरोध भइरहेको बेला सुमार गत बिहीबार नेपाल आएकी हुन् । उनले नेपालमा राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, नागरिक समाज र निजी क्षेत्रका प्रतिनिधिसँग समेत एमसीसी सम्झौताको विषयमा कुराकानी गरेकी छन् ।
उनले दलका नेताहरुसँगको भेटमा आफूले एमसीसी अनुमोदन गर्न ढिलो भइसकेकाले अब यो भन्दा ढिलो गर्न नहुने बताएको जानकारी दिइन् । ‘सम्झौता सन् २०१७ मा नै भएकाले त्यसको दुई वर्षभित्र अनुमोदन भइसक्नुपर्ने थियो तर हामी अहिले नै ढिलो भइसकेका छौं,’ उनले भनिन् ।
उपाध्यक्ष फातिमाले संसदबाट तत्काल अनुमोदन गर्नुपर्नेमा जोड दिँदै नेपालले यो आर्थिक अवसरलाई उपयोग गर्नुपर्ने बताइन् । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्य एमसीसीका सम्बन्धमा नेपालमा उठेका प्रश्नहरुलाई स्पष्ट पार्नु रहेको पनि बताएकी छन् ।
उनले एमसीसी परियोजनामा सहभागी गराउन नेपालले नै अमेरिकालाई आग्रह गरेको भन्दै एमसीसी अनुमोदन हुनेमा आफू आशावादी रहेको पनि बताईन् । उनले भनिन्, ‘म आशावादी छु किनकी पालका नेताहरु एमसीसीले के प्रतिनिधित्व गर्छ र यसले प्रदान गर्ने आर्थिक अवसरको बारेमा जानकारी राख्छन् ।’