काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले संसविधान संशाेधन गरिनु पर्ने बताएका छन् ।
पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताए । प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको पनि बताए । उनले भने, ‘हामीले राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेका छौं । तर जरुरी पर्यो भने सडकमा जानुपर्ने हुनसक्छ ।’
सम्बोधनको क्रममा दिवंगत नेता बोगटीलाई स्मरण गर्दै प्रचण्डले अहिले माओवादीका माथिल्लो तहका नेताहरु बिग्रिएको स्वीकारसमेत गरे । तर, जनता र कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको उनले बताए ।
उनले क्रान्ति र आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र छ । माओवादीले चाहे लाखौंको संख्यामा जनता सडकमा आउन तयार रहेछन्,’ उनले भने, ‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ ।’
प्रचण्डले युद्धको बेला अप्ठेरो ठाउँमा जिम्मेवारी लिन हानथाप गर्ने पार्टी पंक्ति अहिले गुट बनाएर फाइदा लिन मात्र केन्द्रित भएको पनि बताए । ‘अहिले पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थका लागि लगाव धेरै देखिएको छ,’ उनले भने, ‘गुट बनाउनतिर बढी जाँगर आउने, पार्टी बनाउने भन्दा गुट बनाउँदा फाइदा हुन्छ कि भन्ने सोच्ने प्रवृत्तिको विस्तारै विस्तारै विकास भएको छ ।’