logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • तालिबानमा पहिराे : किन छाडे बरादरले काबुल ?

    तालिबानमा पहिराे : किन छाडे बरादरले काबुल ?

    1.5K
    Shares

    काठमाडाैं । तालिबानकाे अन्तरिम सरकारमा फुटकाे स्थिति सिर्जना भएकाे छ । तालिबानकाे उच्च अधिकारीले तालिबान फुटकाे संघारमा पुगेकाे बताएकाे बीबीसीले उल्लेख गरेकाे छ । 

    गएको हप्ताको अन्त्यतिर तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा चर्काचर्की भएको हो । तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच भनाभनको अवस्था आएको स्राेतकाे दाबी छ । 

    हालका दिनहरुमा मुल्ला गनी बरादर सार्वजनिक रुपमा देखिएका छैनन् । केही समयअघि बरादरकाे मृत्यु भएकाे खबर पनि सार्वजनिक भएकाे थियाे । यद्यपी यी खबर तालिबानले आधिकारिक रुपमा खारेज गरेकाे छ ।

    तालिबानले अघिल्लाे महिनामा अफगानिस्तान कब्जा गरेकाे थियाे । तालिबानले कब्जा गरेपछि अफगानिस्तानलाई इस्लामिक गणतन्त्र राज्यबाट एक इस्लामिक इमिरेट बनाउने घोषणा गरेकाे थियाे । तालिबानले ७ सेप्टेम्बरमा नयाँ क्याबिनेट घाेषणा गरेकाे थियाे जसमा सबै पुरुषमात्र समावेश छन् ।

    अन्तरिम सरकारका उपप्रधानमन्त्रीसमेत रहेका बरादर र शरणार्थीसम्बन्धी मन्त्री खलिल उर–रहमान हक्कानीबीच भनाभन भएको हो । हक्कानी नेटवर्कका प्रमुख सदस्यमध्येका खलिल र बरादरबीच अफगानिस्तानमा तालिबानको सफलताको जस लिने विषयमा भनाभन भएको हाे । 

    बरादरीले आफूसहितका कतारमा रहेका नेताहरुको कूटनीतिक पहलका कारण सफलता मिलेको बताएका थिए भने हक्कानीले सैन्य बलबाट अफगानिस्तान कब्जा गर्न सकिएको बताएका थिए । शीरष नेताहरुबीच नै भनाभन भएपछि उनीहरुका समर्थक पनि एक आपसमा खनिएका थिए ।

    बरादर सन् २०२०मा अमेरिकाकाे राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग फोनमा कुरा गर्ने पहिलाे तालिबानी नेता हुन् । यसभन्दा पहिला उनले तालिबानकाे तर्फबाट दोहा सम्झाैतामा अमेरिकी सैनिक फिर्ता लैजाने सम्झाैतामा उनले हस्ताक्षर गरेका थिए । 

    हक्कानी नेटवर्क पनि तालिबानमा शक्तिशाली मानिन्छन् । पछिल्ला वर्षहरुमा अफगानिस्तानमा सबैभन्दा हिंसात्मक हमलामा याे नेटवर्क संलग्न भएको बताइएकाे छ । अमेरिकाले यसलाई आतंकवादी संगठन घोषणा गरेको छ । यसका नेता सिराजुद्दीन हक्कानी नयाँ तालिबान सरकारमा आन्तरिक मन्त्री छन् ।

    कहाँ छन् बरादर ? 

    विवादका कारण बरादर काबुल छाेडेर कान्दाहार गएकाे बताइएकाे छ । उनले त्यहाँ तालिबानकाे शीर्ष नेतासँग भेट गरेकाे बीबीसीले जनाएकाे छ । साेमबार तालिबानले बरादरकाे नाममा एक अडियाे टेपसमेत जारी गरेकाे छ जसमा बरादर भ्रमणमा निस्किएकाे बताइएकाे छ । 

    तालिबानले सरकार भित्र कुनै विवाद नभएकाे र बरदार सुरक्षित रहेकाे पनि जनाएकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend