बुटबल । नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले एमालेबाट बिग्रिएर गएका केही मानिसले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएको बताएका छन् ।
बुटबलमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले माधवकुमार नेपाललगायत नेताहरूलाई बिग्रिएर गएको संकेत गरेका हुन् । ‘हाम्रो पार्टीबाट केही बिग्रिए र तिनले सरकार बनाइदिए । प्रधानमन्त्री खाइदेउ भन्ने मानिसले गएर भनेपछि अहिलेको सरकार बनेको हो,’ ओलीले भने ।
ओलीले नेपालमा एमाले मात्र जनताको भरपर्दो पार्टी रहेको पनि बताए । उनले एमालेले मधेश आन्दोलनको समयमा भएको नाकाबन्दी अन्त्य गर्न लगाएको पनि बताए । ‘हामी नै हौं नाकबान्दी भनेर फिर्ता गर्न लगायौं । अरूले नाकाबन्दी भन्न पनि डराए । नेपाली कांग्रेस सामान्य अवस्थामा ठूलाठूला गफ गर्छ । नाकाबन्दी हुँदा आवाज ननिकालिकन कुनामा गएर लुसुक्क सुत्छ, बोल्द सक्दैन,’ ओलीले भने, ‘तर, अनुकुल अवस्था आयो भने नेपाली कांग्रेस कहाँ पुग्यो देख्नुभएको छ नि ।’
२०५१ मा पनि अदालतबाटै एमालेको सरकार ढालेर शेरबहादुरलाई प्रधानमन्त्री बनाइएको स्मरण गर्दै ओलीले अहिले पनि अदालतको परमादेशबाटै देउवालाई प्रधानमन्त्री तोकिएको बताए । ‘सरकार अदालतको परमादेशबाटै बनाइयो तर जनता चाहिएन । अदालतले प्रधानमन्त्री तोकिदिनुपर्ने कस्तो लोकतन्त्र ? उनले भने
ओलीले सबै नक्कली कुराहरू चुनावसम्म अन्त्य हुने पनि बताए । ‘हामी चुनाव कुरेर बसिरहेका छौं । सबै नक्कली कुराहरू चुनावसम्म सकिहाल्छ । हामी चुनावसम्म यो सरकार पुगोस् भन्ने चाहन्छौं । एमालेलाई जित्न सरकारमा बसेर चुनाव लड्नुपरेको छैन । एमालेले जनताको साथ लिने हो ।’
ओलीले अब आउने चुनाव जितेर एमाले फेरि सरकारको नेतृत्व गर्ने दाबी गरे । पार्टीभित्रैका केही ईष्यालु तत्वहरूले एमाले ध्वस्त पार्न खोजेको उनको आरोप थियो ।
‘एमालेले विकास गर्न थालेपछि पार्टीहरूलाई हाम्रो सटर बन्द हुन्छ भन्ने चिन्ता भयो । पार्टीका ईष्यालु तत्वहरू आफूले पाउँदा ट्वाँ पर्ने । अरूले गर्दा प्रतिक्रियावादीसामु पुगेर पार्टी ध्वस्त पार्न खोजियो,’ ओलीले भने ।
ओलीले वर्तमान गठबन्धन सरकारले भत्काउन मात्रै जानेको र बनाउन केही नजानेको आरोप पनि लगाए । गठबन्धन सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हास्यास्पद भएको ओलीको टिप्पणी थियो ।
‘यिनीहरुले घण्टाघर बनाउँछन् रे, यिनीहरुले बनाउँदैनन् भत्काउन मात्रै जानेका छन्, यिनीहरुले भत्काए भने पनि हामी बनाउँछौ । भूकम्पकले भत्काएको २७ हजार घर, १३ हजार स्कुल र चौकीहरू एमाले सरकारले बनायो, ओलीले भने, ‘एमाले परोपकारी संस्थाका रुपमा हाजिर भइरहेको छ । अझै भइरहने छ ।’