काठमाडौं। एमाले नेता रामबहादुर थापाले एमाले फेरि राजकीय सत्तामा पुग्ने बताएका छन्। बिहीबार राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन्।
उनले दक्षिणपन्थी र पूँजीवादी धाराविरुद्ध सदन र सडकबाट अगाडि बढ्दै पुन एमाले सत्तामा पुग्ने दाबी गरेका हुन्।
‘आज प्रतिगमन भएको छ। एमाले दक्षिणपन्थीविरुद्ध मोर्चा बनाउन सफल भएको छ। मुलुकको यो अवस्था धेरै दिन टिक्नेवाला छैन’, थापाले भने, ‘आगामी दिनमा समाजवादी धारालाई दक्षिणपन्थीविरुद्ध सदन र सडकबाट अगाडि बढाउँदै। पुन राजकीय सत्तामा एमालेको नेतृत्व स्थापित गर्न सफल हुनेछौँ।’
एमाले कम्युनिस्ट आन्दोलनको मूल प्रवाह भएको दाबी गर्दै थापाले समाजवादी आन्दोलनलाई अगाडि बढाउन सबैलाई आग्रह गरेका छन्।
‘कम्युनिस्ट आन्दोलनको मात्र होइन। नेपालको समाजवादी आन्दोलन र नेपालको स्वाधिनता आन्दोलनको मूल प्रवाह एमाले हो’, थापाले भने, ‘यो समाजवादी र क्रान्तिकारी धारा हो र यो विश्व कम्युनिस्ट आन्दोलनको अभिन्न अंग हो। त्यो उचाईमा आत्मसाथ गर्न जरुरी छ। नेपालको समाजवादी आन्दोलनलाई अगाडि बढाउन पार्टीका सम्पूर्ण कमरेडले अगाडि बढ्नु जरुरी छ।’
थापाले अब फेरि एमाले संघर्षको मोर्चामा विजयी हुने दाबीसमेत गरेका छन्। ‘आउने संघर्षमा फेरि कम्युनिस्ट पार्टी एमाले संघर्षको मोर्चामा विजयी बन्नेछ।’