
नेपाली कांग्रेस सरकारमा आएको दुई महिना बितिसक्याे । तर अझै मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन । सरकारले कहिले पूर्णता पाउँछ ? वडा अधिवेशनको विवाद कहिले समाधान हुन्छ ? समयभित्रै कांग्रेसले अधिवेशन गराउन सक्छ वा सक्दैन ? लगायतका विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलसँग सुनौलो नेपालका लागि संवाददाता सीता न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
नेपाली कांग्रेस सरकारमा आएको २ महिना बित्याे तर, मन्त्रिपरिषद् विस्तार हुन सकेन किन ?
कांग्रेस सत्तापक्षमा तत्काल आउला भनेर हामीले कल्पना पनि गरेका थिएनौँ । दुई तिहाइ बहुमत पाएको सरकारले आन्तरिक विवाद समाधान गर्न नसक्दा यो अवस्था आयो । कांग्रेसले मन्त्रिमण्डल छिटो विस्तार गरेर जनतालाई राहतको महसुस गराउन सक्नुपर्ने हो । पाँच जना मन्त्रीले सरकार चलाउँदा हामीलाई पनि पीडा छ । अरु सहयात्री दलहरुलाई मिलाएर लैजानुपर्ने छ । सत्तागठबन्धन दलका विवाद सर्वोच्च अदालतमा अझै बाँकी रहदाँ रहेकाले समस्या भएको हो । तर अब छिटै सरकारले पूर्णता पाउँछ ।
सरकारमा जम्मा चारजना मन्त्री र एकजना राज्यमन्त्री बनाएको छ , यसरी सरकारले प्रभावकारी काम गर्न सक्छ ?
अरु राजनीतिक दलको समीकरणबाट पनि बनेको सरकार भएकाले साझा एजेण्डासहित चल्नुपर्छ । नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा वा मेनिफेस्टोमा जारी गरेको आधारमा बनेको सरकार होइन । पाँचजना मन्त्रीले सत्ता सञ्चालनमा प्रभावकारी भुमिका निर्वाह हुँदैन ।
नेपाली कांग्रेसले पनि अध्यादेश ल्याउने, मन्त्रिपरिषद् विस्तारमा ढिलाई गर्ने र यो बजेट होलिडेलगायतका कार्य शैलीले कांग्रेसको चुनाव पछिको नेतृत्व कस्तो होला ?
नेपाली कांग्रेसले आफ्नो भुमिका मर्यादित रुपमा निर्वाह गर्छ । कम्युनिष्ट जस्तो माइक हान्ने प्रवृत्ती हाम्रो होइन । सत्तामा हामीले सबैलाई मिलाएर लैजाने जिम्मेवारी छ । अब छिटै सबै विवाद मिलाएर जनताको भावना अनुरुप काम हुनेछ ।
यही शैलीले नेपाली कांग्रेस अलोकप्रिय हुने अवस्थामा छ, डर कति छ ?
अप्ठ्यारो परेको बेला मुलुकमा सधैँ नेपाली कांग्रेसकाे नेतृत्व आवश्यक पर्छ । इतिहासले त्यो कुरा भन्छ । अहिले प्रधानमन्त्री शेरबहादुरको नेतृत्वमा सरकार छ र शुरुको यो अवस्था राम्रो चाहिँ भएन । अन्य सत्तागठबन्धनको दलले आफ्ना प्रतिनिधी पठाउन सकेन नत्र कांग्रेसलाई मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या थिएन । फलानो नेताको नाममा मन्त्री दिनै पर्ने गणेश प्रवित्ती हावी भएकाले समस्या भएको हो ।
सत्ताको किचलो बढ्दै जाँदा फेरि नेपाली कांग्रेस र नेकपा एमालेको एकता हुन्छ भन्ने कुरा सत्य हो ?
राजनीतिमा कोही कसैको शत्रु र मित्र हुँदैन । समय र परिस्थिति अनुसार के कुरा उत्पन्न हुन्छ भन्ने महत्वपूर्ण हो । संविधानको मर्म विपरीत केपी शर्मा ओलीको बोलीले नै उहाँ आज सडकमा आउनु भएको हो । समायोजन भएका दलहरुलाई मिलाएर लैजान नसक्ने आफ्नै समकक्षीलाई प्रहार गर्ने गरेकाले नै विद्रोह भएको हो । यस्तै क्रियाकलापले नेकपा एमाले भित्रको अन्तिम प्रधानमन्त्री केपी शर्मा ओली हुन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend