काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आइतबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमान स्थित अल अमिरात क्रिकेट मैदानमा साँझ ४ः१५ बजे सुरु हुने खेलमा नेपाल ओमानसँग बदला लिने तरखरमा छ । यसअघिको खेलमा नेपाल घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएको थियो । यस सिरिजमा ओमानसँग नेपालको खेल अन्तिम हो ।
यसअघि नेपालले तीन खेलमा एक जित निकालेको छ । नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
विश्वकप क्रिकेट लिग–२ मा नेपाल छैटौं स्थानमा छ । नेपालले सात खेलबाट ६ अंक बनाएको छ । १२ खेलबाट २० अंक बनाएको ओमान शीर्षस्थानमा छ । अमेरिका १५ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ एकदीवसीय विश्वकप छनोटको आधार हो । सात टोली सहभागी लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्छन् । जसबाट शीर्ष तीन टोलीले सन् २०२३ मा जिम्बावेमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् ।