काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपालले ओमानलाई ब्याटिङको निम्तो दिएको छ ।
आइतबारको खेलमा नेपालको प्लेइङ सेटमा दुई खेलाडी परिवर्तन भएका छन् । कुशल मल्ल र गुल्शन झालाई बेन्चमा राखिएको छ । उनीहरुको स्थानमा शरद भेषवाकर र आरिफ शेखलाई राखिएको छ । शरद र आरिफले ओमानमा लिग–२ सिरिजमा पहिलो खेल खेल्न लागेका हुन् ।
नेपाल ओमानसँग बदला लिने समेत तरखरमा छ । यसअघिको खेलमा नेपाल घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएको थियो । यस सिरिजमा ओमानसँग नेपालको खेल अन्तिम हो ।
यसअघि नेपालले तीन खेलमा एक जित निकालेको छ । नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।
विश्वकप क्रिकेट लिग–२ मा नेपाल छैटौं स्थानमा छ । नेपालले सात खेलबाट ६ अंक बनाएको छ । १२ खेलबाट २० अंक बनाएको ओमान शीर्षस्थानमा छ । अमेरिका १५ खेलमा १४ अंक जोड्दै दोस्रो स्थानमा छ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ एकदीवसीय विश्वकप छनोटको आधार हो । सात टोली सहभागी लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्छन् । जसबाट शीर्ष तीन टोलीले सन् २०२३ मा जिम्बावेमा आयोजना हुने विश्वकपमा स्थान बनाउनेछन् ।