logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना : मापसे चेकिङ र स्वास्थ्य मापदण्ड पालनामा कडाइ

    चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना : मापसे चेकिङ र स्वास्थ्य मापदण्ड पालनामा कडाइ

    4.9K
    Shares

    काठमाडौं । चाडपर्व नजिकिएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापनका विशेष योजना सार्वजनिक गरेको छ। 

    ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले महाशाखाले विशेष योजना सार्वजनिक गरेको हो । सो योजना सोमबारदेखि नै लागू भएको जानकारी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए।  

    बसपार्क, टिकट काउन्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालनाका सम्बन्धमा समेत ट्राफिक प्रहरीले विशेष अनुगमन गर्ने भएको छ। सार्वजनिक सवारीमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरेर स्वास्थ्य मापदण्डसँगै यात्रुलाई हुनसक्ने ठगीका सम्बन्धमा निगरानी गर्ने तयारी महाशाखाको छ। 

    ४३ ठाउँमा विशेष चेकिङ

    चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले दैनिक चार पटकसम्म विभिन्न ४३ ठाउँहरुमा २४ सै घण्टा चेकिङ थालेको छ । थानकोट, नागढुंगा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखालगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने योजना महाशाखाको छ। लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राखेनराखेको, बढी भाडा लिए/नलिएको, चालकले मापसे गरेनगरेको, चालकको अवस्था, स्वास्थ्य मापदण्ड पालना भए नभएको विषयमा गम्भीर भएर जाँच गर्ने महाशाखाले जनाएको छ ।

    महाशाखा प्रमुख एसएसपी भट्टराईका अनुसार किनमेल गर्ने र उपत्यका छाड्नेको बाक्लो उपस्थिति हुने एरियामा थप जनशक्ति परिचालन गर्ने योजना छ । विशेषगरी बसपार्क क्षेत्र, उपत्यका प्रवेश गर्ने नाकाहरु, सपिङ कम्प्लेक्स तथा व्यापारिक केन्द्रहरुमा किनमेलका लागि आउने मानिस तथा सवारी साधनको बढी भीडभाड हुने स्थानहरूमा अतिरिक्त ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको महाशाखाले जनाएको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासका अनुसार चाडपर्वलाई लक्षित गरी उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्षहरु सञ्चालन हुनेछन् । नागढुंगा, कलंकी, स्वयम्भू, सुन्धारा, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् ।

    यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरु तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरुको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय भइरहेको छ। ‘चाडपर्वमा रमाइलो गर्ने बहानामा मापसे गरि सवारी चलाउने सवारीचालकमाथि हाम्रो विशेष ध्यान जाने छ,‘ एसपी दासले भने,‘ दुर्घटना हुन नदिन राती र दिउँसै पनि मापसे जाँचमा कडाई गर्छौं।’ दुर्घटनालाई शून्यमा झार्न सवारीको तीव्र गति नियन्त्रणका लागि नाइट भिजन लेजर स्पीड गन समेत प्रयोग गरिने महाशाखाले जनाएको छ। 

    मशाखाका सह– प्रवक्ता सुनिलजंग शाहका अनुसार लामो दूरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए/नभएको ट्राफिक प्रहरीको एपबाट समेत चेकजाँच गरिने छ। उनका अनुसार न्युरोड एरिया, ठमेल, कालीमाटी, कलंकी, बल्खु, कोटेश्वर, गौशाला, चाबहिल, बौद्ध, बालाजु, बसपार्क लगायतका एरियामा बढि भिडभाड हुने कारण हुने बिगतको अनुभवलाई मनन गर्दै त्यस्ता क्षेत्रमा थप जनशक्ती परिचालन गरि ट्राफिक व्यवस्थापन एव पार्किङ्ग व्यवस्थापन मिलाईने र आवश्यक परेको खण्डमा न्युरोड, खिच्चापोखरी, ईन्द्रचोक लगायतका भित्री इलाकामा सवारी साधन डाइभर्सन समेत गरिने छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend