एजेन्सी । खेलको अन्तिममा उरुग्वेयन सेन्टर डिफेन्डर रोनाल्ड एराउजोले गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।
घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलको सुरुवातमै ग्रानाडाले गोल गरेपछि बार्सिलोना दबाबमा देखिएको थियो ।
खेलको दोस्रो मिनेटमै डोमिङओस डुअर्टीले हेड गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले सर्जियो स्कुडेरोको पासमा गोल गरेका थिए । ग्रानाडाको अग्रतापछि आक्रामक बनेको बार्सिलोनाले पहिलो हाफमा गोल फर्काउने राम्रा अवसर खेर फालेको थियो ।
७७ प्रतिशत बल पोसेसनमा राखेको बार्सिलोनाले दोस्रो हाफमा पनि लगातार गोलको अवसर गुमाएको थियो । खेलभर १७ वटा पोस्ट प्रहार गरेको बार्सिलोनाले अन्तिममा बराबरी गोल फर्काउन सक्यो ।
९०औं मिनेटमा रोनाल्ड एराउजोले उत्कृष्ट हेड गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । २२ बर्षीय रोनाल्डले पाब्लो गाभिराको पासमा गोल गरेका थिए । बार्सिलोनाका स्ट्राईकर मेम्फिस डिपाए, फिलिप कोउटिन्हो र विङ्गर युसुफ डेमिरलाई ग्रानाडाका डिफेन्डरले खासै चल्न दिएनन् ।
२३ प्रतिशत बल पोसेसनमा राखेको ग्रानाडाले खेलभर पाँचवटा पोस्ट प्रहार गरेको थियो । सुरुवाती अग्रतापछि डिफेन्स लाइन बलियो बनाएको ग्रानाडा अन्तिममा पुगेर अंक बाँड्न बाध्य भयो ।
बराबरीसँगै बार्सिलोना सातौं स्थानमा उक्लिएको छ । चार खेलमा दुई जित र दुई बराबरी नतिजा निकालेको बार्सिलोनाको आठ अंक छ । पाँच खेलबाट तीन अंक बटुलेको ग्रानाडा १७औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको पाँच खेलबाट १३ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडले ११ अंक बनाएको छ ।