काठमाडौं । साफ च्याम्पिनसिप फुटबलको अन्तिम तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
नेपाल र ओमानबीचको खेल कतारको दोहामा असोज १० गते आइतबार हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली फुटबल टोली साफ तयारीको लागि अहिले कतारमा अभ्यास गरिरहेको छ ।
कतार जानुअघि नेपालले घरेलु मैदान दशरथ रंगशालामा भारतसँग भदौ १७ र २० गते दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । भारतसँगको पहिलो खेलमा १–१ गोलको बराबरी खेलेको नेपाल दोस्रो खेलमा २–१ गोलले पराजित भएको थियो ।
दक्षिण एसियाको महादेशीय फुटबल प्रतियोगिता साफको १३औं संस्करण असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुनेछ । नेपाली टोली कतारबाटै असोज ११ गते माल्दिभ्स जाने तयारीमा छ । साफ च्याम्पियनसिपमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले साफमा भाग लिएको छैन । कोरोना संक्रमणले भुटान सरकारले आफ्ना नागरिकलाई देशबाहिर जान प्रतिबन्ध लगाएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ । राउन्ड रोविन लिगका आधारमा खेलिने साफमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् । नेपाल साफमा सेमिफाइनलभन्दा माथि जान सकेको छैन ।