एजेन्सी । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिडलाई भिल्लारियलको धक्का लागेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा शीर्षटोली रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली रियलले ४९ प्रतिशत बल पोसेसन राखेको थियो । रियललाई कडा टक्कर दिएको पाहुना टोली भिल्लारियलले ५१ प्रतिशत बल पोसेसन राख्न सफल भयो । रियलले १५ वटा पोस्ट प्रहार गर्दा भिल्लारियलले ६ वटा पोस्ट प्रहारको अवसर बनायो ।
रियलको लगातार प्रयासमा भिल्लारियलका गोलरक्षक जेरोनिमो रुल्ली बाधक बने । जारी लिगमा उच्च लयमा देखिएका रियलका कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियर खेलभर भिल्लारियलका डिफेन्सको नियन्त्रणमा परेका थिए । यसअघि बेन्जेमाले आठ र भिनिसियसले पाँच गोल गरिसकेका छन् । भिल्लारियलको प्रहारलाई पनि रियलका गोलरक्षक थिवाउट कोर्टुवाले विफल पारेका थिए ।
बराबरीसँगै लिगमा अपराजित यात्रा कायम राखेको रियल शीर्षस्थानमा यथावत छ । सात खेलबाट पाँच जित र दुई बराबरी नतिजा निकालेको रियलको १७ अंक छ । रियलसँग अंक बाँडेको भिल्लारियल आठ अंक सहित १०औं स्थानमा छ ।
शनिबार रातिनै भएको खेलमा साविक विजेता एट्लेटिकोलाई डिर्पोटिभो अलाभेसको झट्का लागेको छ । अलाभेसको जितमा भिक्टोर लागुरडिया नायक बने । भिक्टोरले चौथो मिनेटमै रुबेन डुअर्टेकोे पासमा गोल गरेका थिए । हारपछि तेस्रो स्थानमा झरेको एट्लेटिको म्याड्रिडको १४ अंक छ । लिगमा पहिलो जित निकालेको अलाभेस तीन अंक सहित १९औं स्थानमा छ ।
अर्को खेलमा स्पान्योललाई २–० गोलले हराउँदै सेभिया दोस्रो स्थानमा उक्लियो । सेभियाको जितमा युसुफ इन नासेरीले १३औं र राफा मिरले ८७औं मिनेटमा गोल गरे । जितसँगै सेभियाको ६ खेलबाट १४ अंक पुगेको छ । पराजित स्पान्योल ६ अंक सहित १५औं स्थानमा छ । अर्को खेलमा भ्यालेन्सिया र एथलेटिक बिल्बाओले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।