काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार टोलीमा रहेका २५ खेलाडीबाट अन्तिम २३ जनाको नाम घोषणा गरेका छन् ।
यसअघि टोलीमा रहेको गोलरक्षक विकेश कुथु र रक्षक राजन गुरुङ बाहिरिएका छन् । साफको १३औं संस्करण असोज १५ देखि ३० गतेसम्म हुनेछ । नेपाली टोली अन्तिम तयारीका लागि अहिले कतारमा छ । नेपालले कतारमै आइतबार राति ९ः४५ बजे कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ । नेपाली टोली सोमबार उतैबाट माल्दिम्स जानेछ ।
साफ च्याम्पियनसिपमा नेपालसहित भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले साफमा भाग लिएको छैन ।
कोरोना संक्रमणले भुटान सरकारले आफ्ना नागरिकलाई देशबाहिर जान प्रतिबन्ध लगाएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ । राउन्ड रोविन लिगका आधारमा खेलिने साफमा शीर्ष दुई टोली फाइनल पुग्नेछन् । नेपाल साफमा सेमिफाइनलभन्दा माथि जान सकेको छैन ।
नेपाली टोली :
किरण चेम्जोङ (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), आशिष लामा, अनन्त तामाङ, अन्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी र तेज तामाङ ।