काठमाडौं । साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको पहिलो खेलमा हेल्प नेपालले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । भारतीय खेलाडीको बर्चस्व रहेको हेल्प नेपालले बागमतीमाथि २५–१६,२५–१३, २५–१२ को नतिजा निकालेको थियो ।
नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको विजेताले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई दुई लान र तेस्रो हुने टोलीलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।
च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले आगामी चैतमा आयोजना हुने क्लब लिग भलिबलमा स्थान बनाउने छन् ।