काठमाडौं । पोखरा राइनोजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ । कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा पोखराले साविक विजेता ललितपुर प्याट्रीयटर्सलाई नौ विकेटले हरायो ।
ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । पोखराको जितमा रिचार्ड लेभीले अविजित ३८ रन बनाए । उनले २२ बलमा पाँच चौका र एक छक्का हानेका थिए । रित गौतमले १२ रन बनाए । साहन अराचिगे एक रनमा अविजित रहे । बलिङमा ललितपुरका अज्मातुल्लाह ओमार्जाईले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित सात ओभरमा ६ विकेटको क्षतिमा ५१ रन बनाएको थियो । पानीले आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल सात ओभरमा घटाईएको थियो ।
ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए । नारायण जोशी ११ र ओशाडा फर्नान्डोले अविजित १० रन बनाए । ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले नीन विकेट लिए । बिक्रम सोबले दुई तथा केस्रिक विलियम्सले एक विकेट लिए । यस जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले दुई खेलबाट तीन अंक बनाएको छ ।
पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । वर्षाको कारण एक खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो । ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स–११ सँग पराजित भएको थियो । अंक विहीन ललितपुर पुछारमा रहेको छ ।