काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि न्यु डायमन्ड स्पोर्ट्स क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा शनिबार भएको फाइनलमा न्यु डायमन्डले साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा हरायो ।
च्याम्पियन न्यु डायमन्डले पहिलो सेट ग्ुमाएपनि पछिल्ला तीन सेट लगातार आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट एपीएफ २६–२४ ले अगाडी बढ्यो । त्यसपछि न्यु डायमन्डले २५–२१, २५–१७, २५–१५ को नतिजा निकालेको थियो ।
उपाधिसँगै न्यु डायमन्डले चार लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले दुई लाख रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको त्रिभुवन आर्मी क्लबले एक लाख रुपैयाँ प्राप्त गरेको छ । आर्मी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो भएको हो । आर्मीले पुलिसमाथि २५–१७, २५–२०, २५–१७ को जित निकालेको थियो ।