काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ६७९ जनामा (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ७० पीसीआर परीक्षणमा आइतबार थप ६७९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९७ हजार १९२ पुगेको छ ।
यसैगरी एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ८५० परीक्षणबाट १०५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १० हजार ९२० परीक्षणमा ६७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४०५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६९ हजार २२४ रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ ।
देशभर हालसम्म ४२ लाख २८ हजार १६३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २५२ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या १६ हजार ८०४ छ ।