काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आफ्ना नागरिकको र नेपालको न्यायको लागि दक्षिणतर्फ फर्किएर बोल्नसम्म नसकेको बताएका छन् ।
एमाले विधान महाधिवेशनको अन्तिम दिन आइतबार गोदावरीमा समापन सम्बोधन गर्दै ओलीले नेपालीको न्यायको लागि देउवा सरकार बोल्न नसकेको आरोप लगाएका हुन् ।
दार्चुलाका स्थानीय जयसिंह धामी तुइन तर्दा भारतीय एसएसबीले तुइन काट्दा महाकालीमा बेपत्ता भएको घटनातर्फ संकेत गर्दै ओलीले गठबन्धन देउवा सरकारको आलोचना गरेका हुन् ।
समापन समारोहमा ओलीले भने, ’तुइन काटेर, मान्छे झराएर मराइन्छ एउटा नेपाली । यो सरकार नबोल है भनेर पत्रकारलाई सर्कुलर गर्छ । छानबिन समिति बनाउँछ र त्यसले भन्छ यसरी दुर्घटना भएको हो तुइन काटिएको हो । अनि त्यो रिपोर्ट लुकाउन हाइतौबा हुन्छ ।’
ओलीले यस सरकारले आफ्नो न्यायका लागि बोल्न पनि नसकेको भन्दै सरकारप्रति कटाक्ष गरे, ‘यो सरकार दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन । उनीहरूसँग भन्ने कुरा त छोडिदिउँ । आफूले न्याय पाउनका लागि बोल्न नसक्ने यो कस्तो सरकार होला ?’
यस सरकारले नेपाली आकाशमा विदेशी हेलिकोप्टर उडेको हो कि होइन भनेर भन्न नसकेको पनि ओलीले बताए । उनले भने, ’अरुलाई अरुको धन्दा यो सरकारलाई केवल खानको धन्दा । सरकारलाई अरु मतलब छैन ।’